जग्गा बिक्रीको रकम नदिएको भन्दै ठगीको जाहेरी

जग्गा बिक्रीको रकम नदिएको भन्दै ठगीको जाहेरी

प्रेमचन्द्र झा /भदौ २२ रौतहट

रौतहटको चन्द्रपुर नगरपालिका–५ की ५७ वर्षीया सन्झा देवी थरुनीले जग्गा बिक्रीबापतको रकम नदिएको आरोप लगाउँदै सर्लाही धनकौल गाउँपालिका–२ का रामअधार राय यादव र उनकी श्रीमती उषा कुमारी यादवविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएकी छन्।

थरुनीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको जाहेरीअनुसार उनको नाममा रहेको साविक चन्द्रनिगाहपुर गाविस–५ स्थित कित्ता नम्बर १९०/१९ को ०–१–८–१२ जग्गा बिक्री गर्ने क्रममा यादवसँग २० लाख रुपैयाँमा कारोबार तय भएको थियो।

जाहेरीमा उल्लेख भएअनुसार प्रारम्भमा यादवले बैना स्वरूप २०७७ पुस ५ गते ५ लाख रुपैयाँ दिएको र त्यसपछि पटक–पटक गरी थप रकम भुक्तानी गरेका थिए। जाहेरवालाका अनुसार कुल १४ लाख रुपैयाँ प्राप्त भएपछि बाँकी ६ लाख रुपैयाँ जग्गा रजिस्ट्रेसन पारित भइसकेपछि दिने सहमति भएको थियो।

तर, यादवले आफूबाट अधिकृत वारिसनामा गराई उक्त जग्गा आफ्नी श्रीमती उषा कुमारी यादवको नाममा मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट रजिस्ट्रेसन पास गराएको र त्यसपछि बाँकी रकम नदिएको थरुनीको आरोप छ।

जाहेरीअनुसार बाँकी रकम माग गर्दै थरुनीले जिल्ला प्रशासन कार्यालय रौतहटमा समेत उजुरी दिएकी थिइन्। उक्त उजुरीमा यादव उपस्थित भई २०८० मंसिर २० गतेभित्र ६ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्ने सहमति भएको दाबी जाहेरीमा गरिएको छ। सो सहमतिको कागजसमेत प्रहरीमा पेश गरिएको थरुनीले उल्लेख गरेकी छन्।

तर, सहमति भए पनि रकम भुक्तानी नगरी यादव सम्पर्कविहीन हुँदै आएको जाहेरीमा आरोप लगाइएको छ।

जाहेरीमा उल्लेख भएअनुसार पछिल्लो पटक २०८३ असार १५ गते बिहान करिब ११ बजे मालपोत कार्यालय चन्द्रनिगाहपुर अगाडि यादवलाई भेटेर आफ्नो रकम माग गर्दा उनले रकम दिन अस्वीकार गर्दै ‘जानेको गर’ भन्दै धम्की दिएको थरुनीले आरोप लगाएकी छन्।

थरुनीले यादवले आफूलाई विश्वासमा पारी जग्गा आफ्नी श्रीमतीको नाममा पारित गराएको र बाँकी रकम नदिई ठगी गरेको आरोप लगाउँदै दुवै जनालाई कानुनबमोजिम कारबाही गर्न माग गरेकी छन्।

उनले बाँकी रकम ६ लाख ५० हजार रुपैयाँ विपक्षीबाट दिलाई भराइदिनसमेत प्रहरीसमक्ष माग गरेकी छन्।

जाहेरीसँगै जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सहमतिको कागजको प्रतिलिपि तथा आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गरिएको उल्लेख छ।

यद्यपि, जाहेरीमा लगाइएका आरोपबारे प्रहरी अनुसन्धानबाट तथ्य पुष्टि हुन बाँकी छ। आरोपित पक्षको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।