भन्सार छली ल्याइँदै गरेको २०० कुखुराका चल्लासहित भारतीय मोटरसाइकल बरामद

भन्सार छली ल्याइँदै गरेको २०० कुखुराका चल्लासहित भारतीय मोटरसाइकल बरामद

प्रेयचन्द्र झा /भदौ २३ रौतहट 

भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको २ सयवटा लोकल कुखुराका चल्लासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल रौतहटमा सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर रौतहटको टोलीले गौर नगरपालिका–६ स्थित सबगढा बाँधको सीमा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा चल्लासहितको मोटरसाइकल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमकुमार चौधरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतीय नम्बर BR 01 DX 5822 को सुपर स्प्लेन्डर मोटरसाइकलमा राखेर ल्याइँदै गरेका दुइ सय वटा लोकल कुखुराका चल्ला फेला पारेको जनाएको छ।

प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल चालक भने चल्ला र मोटरसाइकल छाडेर फरार भएका थिए।
बरामद चल्लाको मूल्य रु. ६० हजार र मोटरसाइकलको मूल्य रु. १ लाख गरी कुल रु. १ लाख ६० हजार मूल्य कायम गरिएको थियो। आवश्यक कानुनी कारबाहीका लागि बरामद सामान गौर भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

नेपालमा कानुनले आयात गर्न प्रतिबन्ध लगाएका कुखुराका चल्ला गौर भन्सार कार्यालयले सम्बन्धित निकाय तथा साक्षीहरूको रोहबरमा नष्ट गरेको भन्सार प्रमुख विकास कुमार रजक ले बताए। बरामद भारतीय मोटरसाइकल भने आवश्यक कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा राखिएको छ।

सीमा क्षेत्रमा अवैध रूपमा कुखुराका चल्ला तथा अन्य वस्तुको ओसारपसार हुने क्रमलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई थप कडाइ गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।