विष्णुपुर चौकमा चक्कु प्रहार, ३७ वर्षीय यादव घाइते,आरोपित पक्राउ
विष्णुपुर चौकमा चक्कु प्रहार, ३७ वर्षीय यादव घाइते,आरोपित पक्राउ

सप्तरी ४ असोज
सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–७ स्थित विष्णुपुर चौकमा लागुऔषधसम्बन्धी गतिविधि रोक्न खोज्दा उत्पन्न विवादका क्रममा चक्कु प्रहार हुँदा ३७ वर्षीय श्याम अवतार यादव घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रविनकुमार मण्डललाई पक्राउ गरेको छ।
प्राप्त विवरणअनुसार, बुधबार साँझ करिब ६:३० बजे सार्वजनिक स्थानमा गाँजा काटिरहेको देखेपछि स्थानीय रामअवतार यादवले मण्डललाई सम्झाउने प्रयास गरेका थिए। सोही क्रममा विवाद उत्पन्न भएपछि चोकमा हिँडिरहेका श्याम अवतार यादवमाथि चक्कु प्रहार भएको पीडितले बताएका छन्।
चक्कु प्रहारबाट यादवको पेट र बायाँ पाखुरामा चोट लागेको छ। घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय बासिन्दाका अनुसार, मण्डल लामो समयदेखि लागुऔषध सेवनमा संलग्न रहेको बताइएको छ। उनी करिब सात महिनासम्म सुधार केन्द्रमा बसेको समेत स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार, घटनामा संलग्न रहेको आरोपमा मण्डललाई घटनास्थलबाटै पक्राउ गरिएको हो। घटनाको वास्तविक अवस्था र चक्कु प्रहार हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सार्वजनिक स्थानमा लागुऔषधसम्बन्धी गतिविधि र त्यसबाट उत्पन्न हुन सक्ने विवादले स्थानीय बासिन्दाको सुरक्षा तथा शान्तिसुरक्षामाथि प्रश्न खडा गरेको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिन्छ।






