अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाका प्रमुखले चीनले चन्द्रमा नै कब्जा गर्न चाहेको आरोप

अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाका प्रमुखले चीनले चन्द्रमा नै कब्जा गर्न चाहेको आरोप लगाएका छन्।

नासाका एड्मिनिस्ट्रेटर बिल नेलसनले जर्मन सञ्चारमाध्यमसँगको कुराकानीमा चीनले चन्द्रमामा आफ्नो सेना उतार्न लागेको र आगामी दिनमा उसले चन्द्रमा मेरो हो भनेर दाबी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनले चीनको अन्तरिक्ष कार्यक्रम एक सैन्य अभियान रहेको र त्यसका लागि उसले अन्य मुलुकको प्रविधि र योजना चोरेको आरोप लगाएका थिए।

यसको जवाफमा सोमबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनको अन्तरिक्ष कार्यक्रम सामान्य रहेको बताएका छन्। उनले अमेरिकाले चीनलाई बदनाम गराउने प्रयत्न मात्र गरेको आरोप लगाए।

उनले भने, ‘अमेरिकाको नासाले वास्तविकतालाई बेवास्ता गरेको यो पहिलोपटक होइन, उसले मन लागेको बोल्दै आएको छ र तीनलाई बदनाम गराउने प्रयास गरिरहेको छ। केही अमेरिकी अधिकारीले तथ्यलाई तोडमोड गरेर चीनलाई बदनाम गराउने प्रयास गर्दै आएका छन्। चीन यस किसिमको गैर जिम्मेवारपूर्ण टिप्पणीको विरोध गर्छ।’

उनले अमेरिकी अधिकारीहरुसँग ठूलो मुलुक भएको नाताले जिम्मेवारी लिँदै अन्तरिक्षमा पर्न सक्ने नकारात्मक असरलाई गम्भीररुपमा लिँदै त्यसलाई सही अवस्थामा ल्याउन आग्रह गरे।

चीनले सन् २०१३ मा पहिलोपटक चन्द्रमामा आफ्नो मानवरहित रकेट अवतरण गरेको थियो। चीनले सन् २०३० सम्ममा पहिलो मानव मिसन चन्द्रमामा अवतरण गराउने रहेको छ। त्यस्तै नासाले सन् २०२५ सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा मानव मिसन अवतरण गराउने योजना बनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।