सशस्त्र प्रहरी बरैनियाका प्रमुख सन्तोषको सहयोगमा घुमुवा हवलदार ज्ञानेन्द्रको असुली कार्य जारी

अजय चौरसिया /
वीरगंज १९ असार । सशस्त्र प्रहरी बल बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंले सशस्त्र प्रहरी हवल्दार ज्ञानेन्द्र चौधरीलाई नियमविपरीत ‘घुमुवा’को रूपमा परिचालन गरी आर्थिक असुली गराई राखेको आरोप लाग्न थालेको छ ।
स्रोतका अनुसार बीओपी बरैनियाको मातहतमा पर्ने छतवा, कान्तिपुर र बलिरामपुर नाकाको सुरक्षा तथा निगरानीको जिम्मेवारी सो बीओपीको रहेको छ । तर, सशस्त्र प्रहरी बल हेडक्वाटरद्धारा ‘घुमुवा’ परिचालन नगर्न तथा सिमानाकाबाट तस्करी बन्द गर्न कडा निर्देशन रहे पनि त्यसको बेवास्ता गर्दै प्रहरी निरीक्षक चौलागाईले आफ्नो विश्वासपात्र हवल्दार चौधरीलाई घुमुवा परिचालन गरेको सशस्त्र प्रहरी स्रोतको दाबी रहेको छ ।
गत हप्ता नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रशासनलाई खबरै नगरी बारा, पर्साको सिमानाकाहरुमा अनुगमन गरे पछि बारा, पर्साका सुरक्षा निकायका प्रमुखहरुलाई तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएको बताईन्छ । निर्देशन पछि दिउँसोको समयमा तस्करी बन्द गराए पनि रातीको समयमा निर्वाध रुपमा तस्करी भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ ।
स्थानीयवासीका अनुसार विशेषगरी छतवा नाका हुँदै भारतबाट विभिन्न किसिमका अवैध मालसामान नेपाल भित्रिने क्रम बढदै गएको छ । दर्जनौं तस्करहरूले दैनिक रूपमा कपडा, हार्डवेयर, खाद्यान्न, काजु, बिस्कुट, चल्ला, माछा, कुखुरा लगायतका सामानहरु अवैध रूपमा ओसारपसार गरिरहेको जनाईएको छ ।
घुमुवाको रूपमा खटेका हवल्दार चौधरीले सो नाका भएर तस्करी गर्ने प्रति तस्करहरु सँग मासिक रु. ५ हजार देखि ५० हजार सम्म असुली गर्ने गरेको समाचार स्रोतले जनाएको छ । स्थानीयहरुले रातीको समयमा हुने अवैध गतिविधिका कारण सीमावर्ती क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको गुनासो गरेका छन् ।
स्रोतका अनुसार घुमुवा चौधरीलाई महिनवारी बुझाएर छतवा र मुसहर्वा नाकाहरुबाट अजय विक्रमले खाद्यान्न, प्रेमले काजु र बिस्कुट, उमेश, कमलेश, वीरेन्द्र, शेखर, नाजिर, सदाम, जयराम, नरेशले कपडा, सकिलले चल्ला, श्यामले माछा, ओमबाबुले कपडा, प्रतिबन्धित औषधी, मालकिष्ट बिस्कुट लगायतका सामानहरुको नेपाल तर्फ तस्करी गरी ल्याउने गरेको ती स्रोतको भनाई रहेको छ ।
सो तस्करीहरु भईरहेको बारे सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईं वा सशस्त्र प्रहरी बलको आधिकारिक धारणा भने प्राप्त हुन सकेको छैन । नेपालको आर्थिक अवस्था बलियो बनाउन तस्करी पूर्ण रुपमा बन्द हुनु पर्ने तथा तस्करीमा संलग्न प्रहरी जवान देखि अधिकृतहरुलाई छानबिन गरी कारवाहीको दायरामा ल्याउन आवश्यक देखिएको स्थानियहरुको भनाई रहेको छ ।






