कोरोनाका नाममा नेपाली व्यापारीलाई दुःख नदिन चीनलाई नेपालको पत्र

काठमाडौ । विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रूप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक–पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो।

चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैँ र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौँ रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपालीले चीनबाट विशेष गरी लुगा कपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने गरेका छन्। चीनबाट स्याउ लगायतका फलफूल, लसुनलगायतका खाद्य कुरा पनि ल्याउने गरेको र तीन सातादेखि रोकिएको ले उक्त वस्तुहरू कुहिएर काम नलाग्ने बनेका छन्।

विगत तीन वर्षदेखि घाटामा रहेका व्यापारीले अहिले कोरोना सहज भएको समयमा ऋण निकालेर दसैँका लागि सामान हालेको तर, चीनले कोरोना महामारीलाई देखाएर नाका पूर्ण रूपमा ठप्प पारेपछि व्यापारीले थप चोट व्यहोर्नु परेको छ।

व्यापारीहरूको आग्रहपछि सरकारले भदौ १३ गते दूतावासलाई पत्र पठाएको हो। पत्रमा नेपाल सरकार सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन तयार भएको तर, कोरोनाका नाममा नेपाली व्यापारीहरूलाई समस्यामा नपार्न चीनलाई आग्रह गरिएको छ।

उद्योग मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले चीनले भनेका र विश्व स्वास्थ्य सङ्गठनले तय गरेका सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी नेपाली सामान ल्याएर चिनियाँ कन्टेनरलाई पूर्ण स्यानिटाइज गरेर फर्काउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए। बीच बाटोमा अलपत्र रहेका कन्टेनरहरू नेपाल भूमिका ल्याउन हर सम्भव प्रयास गरिरहेका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।