कार्यसम्पादन मूल्याङ्कनमा रौतहट प्रहरी नेपाल भरमा प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा रौतहट प्रहरी नेपाल भरमा प्रथम

प्रेमचन्द्र झा,मंसिर ४ रौतहट

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय रौतहटले नेपालभरका मूल्याङ्कन गरिएका प्रहरी कार्यालयमध्ये प्रथम स्थान हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयबाट गरिएको मासिक समीक्षा मूल्याङ्कनमा रौतहट प्रहरीले उत्कृष्ट नतिजा ल्याउँदै जिल्लाको प्रहरी प्रशासनलाई राष्ट्रिय स्तरमै पहिचान दिलाएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको पत्रअनुसार प्रहरीका विभिन्न इकाईहरूले दैनिक रूपमा सम्पादन गर्ने कार्यको केन्द्रीय अभिलेख प्रणालीमार्फत मूल्याङ्कन गर्न गठित समितिले तयार पारेको २०८३ कात्तिक महिनाको Monthly Report Card मा जिल्ला प्रहरी कार्यालय रौतहट पहिलो स्थानमा परेको हो।

कार्यसम्पादन अभिलेख ढाँचामा समावेश विभिन्न सूचक, दैनिक कार्यसम्पादन विवरण तथा तालुक कार्यालयहरूबाट प्राप्त मूल्याङ्कनलाई आधार बनाएर प्रहरी कार्यालयहरूको समग्र कार्यक्षमता समीक्षा गरिएको थियो।

सो मूल्याङ्कनमा कार्यालयहरूलाई ‘क’ श्रेणी (उत्कृष्ट), ‘ख’ श्रेणी (सन्तोषजनक) र ‘ग’ श्रेणी (सुधार गर्नुपर्ने) गरी वर्गीकरण गरिएको थियो। यही प्रतिस्पर्धात्मक मूल्याङ्कनमा रौतहट प्रहरीले देशभरका अन्य कार्यालयलाई पछि पार्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

यो उपलब्धि केवल अंक वा श्रेणीमा प्राप्त सफलता मात्र होइन, संस्थागत अनुशासन, कार्यप्रतिको जिम्मेवारीबोध, व्यावसायिक दक्षता, प्रशासनिक चुस्तता र नागरिक सेवाप्रतिको प्रतिबद्धताको सामूहिक प्रतिविम्ब पनि हो।

प्रहरी संगठनभित्र दैनिक कार्यसम्पादनलाई अभिलेखमा आधारित बनाउँदै सेवा प्रवाह, व्यवस्थापन र जिम्मेवारी निर्वाहलाई प्रभावकारी बनाउने अभ्यासले यस्तो नतिजा हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले यस सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउने सम्पूर्ण प्रहरी कर्मचारी, मातहतका प्रहरी इकाई, आवश्यक समन्वय र सहयोग गर्ने सरोकारवाला निकायप्रति आभार व्यक्त गरेको छ।

साथै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रहरीको सफलता केवल अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनमा मात्र मापन हुँदैन; नागरिकले अनुभूति गर्ने सेवा, संस्थाभित्रको अनुशासन, समयमै जिम्मेवारी निर्वाह र सार्वजनिक विश्वासको निर्माण पनि यसको महत्त्वपूर्ण आधार हुन्।

राष्ट्रिय मूल्याङ्कनमा रौतहट प्रहरीको पहिलो स्थानले यी पक्षलाई थप मजबुत बनाउने अवसर दिएको छ। तर यो उपलब्धिको वास्तविक अर्थ आगामी दिनमा समेत यही स्तरको कार्यसम्पादन कायम राख्दै नागरिकको भरोसालाई व्यवहारमा उतार्नुमा निहित रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।