इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा
मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिइने

काठमाडौं २२ असोज
इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’
मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।
दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशिघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।
*यसअघि मन्त्रीले दिएको सूचनाका आधारमा शोक विदा भनिएपनि सञ्चारमन्त्रीले राष्ट्रिय शोक मात्र घोषणा गरेको जानकारी दिएकाले क्षमाप्रार्थीसहित सच्याएका छौं
साभारः अनलाईन खबर





