धादिङमा मध्यराति बस दुर्घटना: १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते
धादिङमा मध्यराति बस दुर्घटना: १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

काठमाडौं ११ फागुन
धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा मध्यराति यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस राति करिब १ः३० बजे त्रिशुली नदी किनारमा खस्दा दुर्घटना भएको हो। दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो।
मृतक १७ जनाको शव घटनास्थलमै रहेको छ भने घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






