वीरगञ्ज–१८ मा अनिल रुङटाको घरदैलो उत्साहपूर्ण, “स्थायित्व र समृद्धिका लागि कांग्रेस अपरिहार्य”

वीरगञ्ज–१८ मा अनिल रुङटाको घरदैलो उत्साहपूर्ण, “स्थायित्व र समृद्धिका लागि कांग्रेस अपरिहार्य”

वीरगंज १३ फागुन

वीरगञ्ज महानगरपालिका–१८, मनियारी भवानीपुरमा अनिल रुङटाको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेस पर्सा–१ का उम्मेदवार रुङटा बुधबार बिहान आयोजित कार्यक्रममा नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागितासहित स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा जुटेका थिए।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने उक्त वडामा घरदैलो गर्दै उनले लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र देशको समग्र विकासका लागि कांग्रेस नै सक्षम र प्रतिबद्ध दल रहेको दाबी गरे। “स्थायित्व, सुशासन र समृद्धिका लागि कांग्रेसलाई मत दिएर विजयी गराउन म सम्पूर्ण मतदातासँग आग्रह गर्दछु,” उनले भने।

रुङटाले “युवाहरूको सक्रिय सहभागिता र नवीन सोचसहित अघि बढिरहेको कांग्रेस आज व्यवहार र विचार दुवै हिसाबले रूपान्तरण भएको पार्टी हो। अहिलेको कांग्रेस केवल नेतृत्वका कारण मात्र होइन, नीतिगत स्पष्टता र समावेशी दृष्टिकोणका कारण पनि नयाँ बनेको छ,” उनले थपे।

उनका अनुसार रूपान्तरित कांग्रेसप्रति देशभर जनविश्वास र समर्थन बढ्दो छ। “जनताको अपेक्षा सम्बोधन गर्न सक्षम, अनुभव र ऊर्जा दुवै भएको दल कांग्रेस हो,” उनले भने, “हामी विकासलाई केवल नारामा सीमित राख्दैनौं, योजनाबद्ध र परिणाममुखी कार्यमार्फत मूर्त रूप दिन चाहन्छौं।”

रुङटाले वर्तमान राजनीतिक संकटबाट मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे। समावेशी विकास, जनअधिकारको संरक्षण, आर्थिक सबलीकरण र दीगो राजनीतिक स्थायित्व कांग्रेसकै नेतृत्वमा सम्भव हुने उनको भनाइ थियो। “देशलाई अन्योल र अस्थिरताबाट मुक्त गरी सुशासन र समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी कांग्रेसले लिनुपर्छ,” उनले जोड दिए।

घरदैलो कार्यक्रममा स्थानीयवासीले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा आफ्ना अपेक्षा राखेका थिए। रुङटाले ती मागप्रति प्रतिबद्धता जनाउँदै निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहने विश्वास दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।