रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना : मतदान अधिकृतसहित दुई जनाको मृत्यु, ७ जना घाइते

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना : मतदान अधिकृतसहित दुई जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं, १८ फागुन

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सोमबार देउराली तर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा का अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको पनि उपचारको क्रममा मृत्यु भएको हो।

घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटाइएको थियो। उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारको रुद्राक्षश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत हुन्। घाइते अवस्थामा उनलाई मन्थली अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा ज्यान गएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। गाडीमा निर्वाचनका कर्मचारी तथा आवश्यक निर्वाचन सामग्री रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ। निर्वाचनको पूर्वतयारीकै क्रममा भएको यस घटनाले जिल्लाभर शोकको वातावरण सिर्जना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।