कालापानी घटना गम्भीर, निन्दनीय र दण्डनीय’ कार्य
कालापानी घटना गम्भीर, निन्दनीय र दण्डनीय’ कार्य

जनकपुर १३ जेष्ठ
जनकपुरधाम वन प्राविधिक समाजले वन कर्मचारीमाथि भएको दुर्व्यवहार, नियन्त्रणमा लिने कार्य तथा सरकारी सवारी साधनमा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
समाजले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेठ ११ गते डिभिजन वन कार्यालय महोत्तरीअन्तर्गत कार्यरत वन कर्मचारीहरू नियमित वन गस्तीमा रहेका बेला बर्दिवास नगरपालिका–३ कालापानीमा स्थानीय केही व्यक्तिहरूले उनीहरूलाई अवरोध गर्दै केही समय नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा घटनाक्रमका क्रममा कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरिएको र सरकारी सवारी साधनमा समेत आगजनी गरिएको उल्लेख छ । यसलाई समाजले ‘गम्भीर, निन्दनीय र दण्डनीय’ कार्य भन्दै कडा भर्त्सना गरेको छ ।
वन प्राविधिक समाजका अनुसार यस्ता गतिविधिले कानूनी राज्यको उपहास गर्नुका साथै वन तथा प्राकृतिक स्रोत संरक्षण कार्यमा समेत प्रत्यक्ष अवरोध पुर्याउने भएकाले तत्काल संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरिएको छ ।
समाजले वन तथा वातावरण संरक्षणका कार्यमा खटिने कर्मचारीको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।






