सूचना अधिकार ऐनअन्तर्गत पर्यटन विकास कार्यालयसँग आर्थिक तथा प्रशासनिक विवरण माग

सूचना अधिकार ऐनअन्तर्गत पर्यटन विकास कार्यालयसँग आर्थिक तथा प्रशासनिक विवरण माग

प्रेमचन्द्र झा  /जेष्ठ २१रौतहट

रौतहटको गौरस्थित पर्यटन विकास कार्यालय मा सूचना अधिकार ऐन, २०६४ बमोजिम विभिन्न आर्थिक तथा प्रशासनिक विषयमा जानकारी माग गर्दै एक नागरिकले सूचना मागको निवेदन दर्ता गराएका छन्।
समाजसेवी राजन साह निवेदकले कार्यालय प्रमुखसमक्ष प्रमाणित प्रतिलिपिसहित विभिन्न विवरण उपलब्ध गराउन माग गर्दै निवेदन पेश गरेका हुन्। निवेदनमा राज्यका कामकारबाहीलाई पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउन सार्वजनिक निकायमा रहेका सूचनामा नागरिकको सहज पहुँच सुनिश्चित हुनुपर्ने उल्लेख गरिएको छ। व्यक्तिगत अध्ययन, अनुसन्धान तथा जानकारीका लागि कार्यालयसँग विभिन्न विषयमा सूचना माग गरिएको जनाइएको छ।
निवेदनमार्फत आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ मा कन्सल्टेन्सी सेवामा खर्च भएको रकम तथा सो खर्चका क्षेत्रगत विवरण, कार्यालयमा कार्यरत स्थायी र ज्यालादारी कर्मचारीहरूको संख्या, नियुक्ति प्रक्रिया, नाम र पदसहितको विवरण माग गरिएको छ।
त्यसैगरी, उक्त अवधिमा पेट्रोल तथा डिजेलमा भएको खर्च र हालसम्मको बाँकी भुक्तानी रकम, आर्थिक वर्ष २०८२/०८३ मा साना योजनाअन्तर्गत कोटेशनमार्फत सम्झौता गरिएका फर्महरूको विवरण तथा सम्झौताका प्रमाणित प्रतिलिपि पनि माग गरिएको छ।समाजसेवी साहले
निवेदनमा आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ मा कार्यालय खर्च, आगन्तुक सत्कार खर्च, सवारी साधन मर्मत खर्च तथा दैनिक भ्रमण भत्तामा भएको खर्चको प्रमाणित विवरण उपलब्ध गराउन समेत अनुरोध गरिएको छ।
उक्त निवेदनको बोधार्थ जिल्ला प्रशासन कार्यालय रौतहट, राष्ट्रिय सूचना आयोग तथा उद्योग, वाणिज्य तथा पर्यटन विकास मन्त्रालय लाई समेत पठाइएको छ।
निवेदक समाजसेवी साहका अनुसार सार्वजनिक निकायका गतिविधिलाई थप पारदर्शी बनाउन तथा नागरिकलाई सूचनामा सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित कार्यालयले सूचना अधिकार ऐनअनुसार माग गरिएका विवरण उपलब्ध गराउने अपेक्षा गरिएको छ। कार्यालय स्रोतका अनुसार माग गरिएका सूचनामाथि आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।