सखुवा प्रसौनीमा अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रम, ३५० भन्दा बढीको उत्साहजनक सहभागिता

सखुवा प्रसौनीमा अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रम, ३५० भन्दा बढीको उत्साहजनक सहभागिता

वीरगञ्ज ३० जेष्ठ

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले पर्साको सखुवा प्रसौनी गाउँपालिकासँग सहकार्य गर्दै शनिबार भव्य योग कार्यक्रम सम्पन्न गरेको छ।

सखुवा प्रसौनी–२ स्थित श्रीपुर बजार, औराहा पंचगाँवामा आयोजित कार्यक्रममा करिब ३५० जना स्थानीय सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रम अन्तर्राष्ट्रिय योग दिवसका पूर्वसन्ध्यामा आयोजना गरिएको पहिलो विशेष कार्यक्रमका रूपमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले योगलाई स्वस्थ जीवनको आधार भएको उल्लेख गर्दै दैनिक जीवनमा योग अभ्यास आवश्यक रहेको बताए। उनले योगले शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

त्यसैगरी, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले स्थानीय तहमा यस्ता स्वास्थ्य तथा चेतनामूलक कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

भारतका महावाणिज्य दूत डी. एस. मीनाले योगलाई विश्वका लागि भारतको प्राचीन उपहारको रूपमा व्याख्या गर्दै यसले मानव जीवनमा शान्ति, सद्भाव र सकारात्मक ऊर्जा प्रवर्द्धन गर्ने बताए। उनले योगले नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उल्लेख गरे।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सशस्त्र प्रहरी बल पर्साका एसपी, राष्ट्रिय अनुसन्धान विभाग पर्साका एसपी, जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पतञ्जलि योग समितिका सदस्य, विद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागीहरूले योगलाई दैनिक जीवनशैलीमा समावेश गर्ने सामूहिक प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

महावाणिज्य दूतावास, वीरगञ्जले १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आगामी दिनहरूमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।