सामूहिक बलात्कार पीडित दलित महिलालाई इन्सेकको १० हजार रुपैयाँ सहयोग

सप्तरी १० असोज 

सप्तरीको सुरुङ्गा नगरपालिका–९, टिकुलियामा सामूहिक बलात्कारको घटनाबाट पीडित २५ वर्षीया दलित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामले १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

पीडितको कमजोर आर्थिक अवस्थाका कारण उपचार तथा न्याय प्राप्तिका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भइरहेको अवस्थामा इन्सेकले कात्तिक १० गते उक्त सहयोग प्रदान गरेको हो।

मदरसानजिकैको आँप बगैँचामा घटना

पीडित परिवारका अनुसार २०८३ कात्तिक ४ गते बुधबार राति करिब ९:३० बजे स्थानीय मदरसानजिकै रहेको आँपको बगैँचामा घटना भएको थियो। घटनापछि पीडित पक्षले कात्तिक ५ गते बिहीबार इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ताका लागि निवेदन दिएको थियो। सोही दिन पीडितको लहानस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि तथा मानवअधिकारकर्मी नवीनकुमार यादवसमक्ष पीडितले दिएको निवेदनका आधारमा आर्थिक सहयोग उपलब्ध गराइएको हो।

न्याय प्राप्तिमा सहजीकरण गर्ने प्रतिबद्धता

सहयोग रकम हस्तान्तरण कार्यक्रममा इन्सेक सप्तरी जिल्ला प्रतिनिधि तथा मानवअधिकारकर्मी नवीन यादव, अनलाइनखबरका सप्तरी प्रतिनिधि लोकेन्द्र यादव, पत्रकार दीपेन्द्र पासवान, जनचेतना दलित संगम सप्तरीका प्रतिनिधि इन्द्रप्रसाद राम तथा सामाजिक अभियन्ता सलिता कुमारी सदा र बहादुर सदा सहभागी थिए।

कार्यक्रममा मानवअधिकारकर्मी यादवले पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउनुका साथै न्याय प्राप्तिको प्रक्रियामा आवश्यक सहजीकरण गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताए।

आरोपितको खोजी तीव्र

यसैबीच, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले घटनामा संलग्न रहेको आशंका गरिएका युवकहरूको पहिचान भइसकेको जानकारी दिएका छन्। उनका अनुसार आरोपितहरूको खोजी कार्य तीव्र पारिएको छ।

अनुसन्धान प्रभावित हुन नदिन प्रहरीले घटनासम्बन्धी थप विवरण गोप्य राखेको जनाएको छ।

पीडितलाई न्याय दिलाउन निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी प्रक्रिया अघि बढाउनुका साथै उनको सुरक्षा, उपचार तथा आवश्यक सहयोग सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।