NFHS–6 प्रतिवेदनबारे वीरगञ्ज स्थित महावाणिज्यदूत द्वारा पत्रकार सम्मेलन
NFHS–6 प्रतिवेदनबारे वीरगञ्ज स्थित महावाणिज्यदूत द्वारा पत्रकार सम्मेलन

वीरगञ्ज २ असार
भारत सरकारले सार्वजनिक गरेको “राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण–६ (NFHS-6)” सम्बन्धी जानकारी भारतीय महावाणिज्य दूतावास, वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको छ। कार्यक्रममा भारतका महावाणिज्य दूत श्री देवी सहाय मीनाले स्वास्थ्य, पोषण तथा महिला सशक्तीकरणको क्षेत्रमा भारतले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो।
महावाणिज्य दूत मीनाका अनुसार सन् २०२३–२४ मा सम्पन्न सर्वेक्षणले भारतका ७१५ जिल्लाका करिब ६.७९ लाख परिवारलाई समेटेको छ। मुम्बईस्थित अन्तर्राष्ट्रिय जनसंख्या विज्ञान संस्थान (IIPS) को सहकार्यमा गरिएको सर्वेक्षणले स्वास्थ्य, जनसंख्या, पोषण तथा परिवार कल्याणसम्बन्धी महत्वपूर्ण तथ्याङ्क सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो।
उहाँले मातृ तथा शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै ९५.९ प्रतिशत गर्भवती महिलाले प्रसवपूर्व स्वास्थ्य सेवा (ANC) प्राप्त गरेको बताउनुभयो। पहिलो त्रैमासिकमै स्वास्थ्य जाँच गराउने महिलाको संख्या समेत वृद्धि भएको जानकारी दिइएको छ।
त्यस्तै संस्थागत प्रसूति सेवा ९०.६ प्रतिशत पुगेको तथा दक्ष स्वास्थ्यकर्मीमार्फत प्रसूति गराउने दरमा सुधार आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। मातृ पोषण तथा आइरन–फोलिक एसिड सेवन गर्ने महिलाको संख्या वृद्धि हुनु सकारात्मक उपलब्धि भएको उहाँले बताउनुभयो।
परिवार नियोजन सेवामा पहुँच विस्तार भएको उल्लेख गर्दै भारतको कुल प्रजनन दर (TFR) २.० मा स्थिर रहेको तथा गर्भनिरोधक प्रयोग दर ६९.१ प्रतिशत पुगेको जानकारी दिइयो।
बाल स्वास्थ्य तथा खोप अभियानमा समेत उल्लेखनीय सफलता हासिल भएको प्रतिवेदनमा उल्लेख छ। पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको संख्या वृद्धि हुनुका साथै रोटाभाइरस तथा दादुरा विरुद्धको खोप अभियान प्रभावकारी बनेको जानकारी दिइएको थियो।
बाल पोषणमा समेत सुधार देखिएको छ। पाँच वर्षमुनिका बालबालिकामा होचोपन र अत्यधिक दुब्लोपन घटेको तथा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दरमा वृद्धि भएको प्रतिवेदनले देखाएको छ।
महावाणिज्य दूत मीनाले स्वास्थ्य बीमा तथा आर्थिक सुरक्षाको पहुँच विस्तारमा आयुष्मान भारत–प्रधानमन्त्री जन आरोग्य योजना (PM-JAY) प्रभावकारी बनेको उल्लेख गर्दै स्वास्थ्य सेवा सर्वसाधारणसम्म सहज रूपमा पुगेको बताउनुभयो।
उहाँले महिला सशक्तीकरण तथा डिजिटल पहुँचमा पनि उल्लेखनीय सुधार भएको जानकारी दिँदै इन्टरनेट प्रयोग गर्ने महिलाको संख्या दोब्बरभन्दा बढी वृद्धि भएको तथा आफ्नै बैंक खाता सञ्चालन गर्ने महिलाको दर उल्लेखनीय रूपमा बढेको बताउनुभयो।
पत्रकार सम्मेलनमा महावाणिज्य दूत मीनाले NFHS–6 प्रतिवेदनले भारत सतत विकास लक्ष्य (SDGs) प्राप्तितर्फ मजबुत रूपमा अघि बढिरहेको स्पष्ट पारेको धारणा व्यक्त गर्नुभयो।






