सद्भाव र्‍यालीसँगै शोक र्‍याली : राजविराजमा दुई धारको सन्देश, प्रशासन उच्च सतर्कतामा

सद्भाव र्‍यालीसँगै शोक र्‍याली : राजविराजमा दुई धारको सन्देश, प्रशासन उच्च सतर्कतामा

राजविराज १७  साउन

सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावको प्रभाव सप्तरीमा पनि देखिएको छ। आइतबार राजविराजमा एकातर्फ सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव र्‍याली आयोजना गरियो भने अर्कोतर्फ देवानगञ्ज आन्दोलनका क्रममा मृत्यु भएका हिन्दु युवाको सम्झनामा शोक र्‍याली निकालियो। एउटै दिन र लगभग एउटै समयमा दुई फरक उद्देश्यका कार्यक्रम भएपछि जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
पेशागत र लोकतन्त्रका लागि पेशागत संगठन (पापड) सप्तरी को नेतृत्वमा १२ वटा पेशागत तथा नागरिक संघ–संगठनले शिव मन्दिर प्राङ्गणबाट सद्भाव र्‍याली निकालेका हुन्। सहभागीहरूले शान्ति, धार्मिक सहिष्णुता र सामाजिक एकताको पक्षमा सन्देश दिएका थिए। उनीहरूले देवानगञ्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र जिल्लामा शान्ति कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
यस्तै, सनातन संस्कृति नेपाल सप्तरी, हिन्दु समाज नेपाल सप्तरी, राष्ट्रिय बजरंगदल सप्तरी, इस्कोन राजविराज, श्रीकृष्ण भक्त मण्डल तथा हिन्दु समाज सप्तरी सहित ६ वटा हिन्दु संघ–संगठनले संयुक्त रूपमा राम मन्दिर (सिरहा रोड)बाट शोक र्‍याली आयोजना गरेका थिए। आयोजकहरूले देवानगञ्ज आन्दोलनका क्रममा मृत्यु भएका हिन्दु युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण हिन्दु समुदाय, युवा, विद्यार्थी, बुद्धिजीवी, व्यापारी, मजदुर, कृषक तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेका थिए।
दुवै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल प्रहरीले राजविराजका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। स्थानीय प्रशासनले संवेदनशील अवस्थालाई ध्यानमा राख्दै कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा आपसी सद्भाव कायम राख्न सबैसँग संयमता अपनाउन आग्रह गरेको छ।
नागरिक समाजका अगुवाहरूले वर्तमान परिस्थितिमा धार्मिक वा सामुदायिक भावनालाई उत्तेजित गर्ने गतिविधिभन्दा संवाद, संयमता र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार मृतकप्रति सम्मान व्यक्त गर्नु र समाजमा शान्ति तथा सद्भाव कायम राख्नु एकअर्काका विरोधी विषय नभई सहअस्तित्वका आधार हुन्। प्रशासनले पनि जिल्लाको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।