जनएकता र जनश्रमदानबाट याङ्खोला (भोटेकोशी) मा दोस्रो चरणको अस्थायी पैदल झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न
सामूहिक प्रयास, सामाजिक सहकार्य र स्थानीयको अथक श्रमदानले विपद्मा पनि सम्भव भयो पुनर्निर्माण

रसुवा २३ कार्तिक
गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले रसुवा जिल्लाका विभिन्न पुल तथा सडकमा ठूलो क्षति पुर्याएपछि प्रभावित बनेको याङ्खोला (भोटेकोशी) स्थित महत्वपूर्ण पैदल पुल दोस्रो पटक पुनर्निर्माण गरी सफलतापूर्वक सञ्चालनमा ल्याइएको छ।
स्थानीय बासिन्दाको आवतजावत तथा दैनिक जनजीवन सहज बनाउने उद्देश्यले विभिन्न सामाजिक संघसंस्था, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीय समुदायको संयुक्त पहलमा निर्माण गरिएको पहिलो चरणको अस्थायी पैदल झोलुङ्गे पुल नदीमा पानीको बहाव बढेसँगै बगाएको थियो। पुल बगाएपछि पुनः आवतजावतमा समस्या उत्पन्न भएपछि स्थानीय समुदायले हार नमानी दोस्रो चरणको पुनर्निर्माण अभियान अघि बढाएका थिए।
आर्थिक सहयोग, जनश्रमदान र विभिन्न निकायको समन्वयमा सम्पन्न दोस्रो चरणको पुनर्निर्माणले विपद्को समयमा सामाजिक एकता र सामूहिक नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।पहिलो चरणमा ४ लाख ५८ हजार ७७८ रुपैयाँ बराबरको सहयोग
पहिलो चरणको पुल निर्माणका लागि सामाजिक अभियन्ता मानबहादुर तामाङको सहकार्य तथा समन्वयमा Rotary Club, Rotary District 3292 तथा Rotary Community Corps Rasuwa (Sponsored by Rotary Club of Godawari) बाट सामग्री खरिद तथा मिस्त्री ज्यालाका लागि ३ लाख ३ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो।
त्यसैगरी समाजसेवी विनोद आचार्यको पहल तथा समन्वयमा Family Stoffel Foundation र Shanti Sewa Griha बाट १ लाख ५५ हजार ७७८ रुपैयाँ बराबरको निर्माण सामग्री सहयोग प्राप्त भएको थियो।
संजेन हाइड्रोपावरले १२० मिटर लामो डोरी उपलब्ध गराएको थियो भने २५२ जना स्थानीय बासिन्दा र ६० जना सुरक्षाकर्मीले श्रमदान गरेका थिए।पहिलो चरणमा आर्थिक तथा सामग्री सहयोगको कुल मूल्य ४ लाख ५८ हजार ७७८ रुपैयाँ रहेको थियो।
दोस्रो चरणको पुनर्निर्माणमा ३ लाख ५५ हजार रुपैयाँ सहयोगपहिलो चरणमा निर्माण भएको पुल बाढीले बगाएपछि पुनर्निर्माणका लागि विभिन्न निकायले पुनः सहयोग गरेका थिए।
दोस्रो चरणको निर्माणका लागि Rotary Club, Rotary District 3292 तथा Rotary Community Corps Rasuwa (Sponsored by Rotary Club of Godawari) बाट २ लाख ३० हजार रुपैयाँ र नेपाल रेडक्रस सोसाइटीबाट १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो।
यस चरणमा २५० जना स्थानीय बासिन्दाले जनश्रमदान गरेका थिए भने सुरक्षा निकायका ५९ जना सुरक्षाकर्मीले श्रम सहयोग प्रदान गरेका थिए।
यसरी पहिलो र दोस्रो चरणमा गरी आर्थिक तथा सामग्री सहयोगको कुल मूल्य ८ लाख १३ हजार ७७८ रुपैयाँ पुगेको छ। यसबाहेक संजेन हाइड्रोपावरको १२० मिटर डोरी तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको श्रम योगदानसमेत अभियानका महत्वपूर्ण उपलब्धि हुन्।
जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीय समुदायको संयुक्त नेतृत्व पुल पुनर्निर्माण अभियानलाई सफल बनाउन आमाछोदिङ्मो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ, वडा नं. २ का अध्यक्ष ल्हाक्पकामी तामाङ, वडा नं. ३ का अध्यक्ष सुरेन्द्र तामाङ, वडा नं. ४ का अध्यक्ष धर्म तामाङ र वडा नं. ५ का अध्यक्ष दावा गोम्बो तामाङको संयुक्त नेतृत्व तथा सक्रिय समन्वय महत्वपूर्ण रहेको थियो।
त्यसैगरी गाउँपालिकाका कर्मचारी, स्थानीय अभियन्ता मानबहादुर तामाङ, सोनाम छिरिङ तामाङ, सेलकर तामाङलगायत स्थानीय अगुवाहरूले पुनर्निर्माण अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
पुल निर्माणमा खटिएका श्रमिक तथा सुरक्षाकर्मीका लागि गाउँपालिकाभरिका स्थानीय आमाहरूले खाजाको व्यवस्थापन गरी मानवीय सहयोग र सामाजिक सद्भावको अनुकरणीय उदाहरण प्रस्तुत गरेका थिए।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल (APF) ले समेत दुवै चरणको निर्माणमा महत्वपूर्ण श्रम सहयोग गरेका थिए।सहयोगी संस्थाप्रति आभार यस मानवीय अभियानमा Rotary Club, Rotary District 3292, Rotary Community Corps Rasuwa, Rotary Club of Godawari, Family Stoffel Foundation, Shanti Sewa Griha, नेपाल रेडक्रस सोसाइटी, संजेन हाइड्रोपावर, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा सम्पूर्ण श्रमदाताप्रति आयोजक पक्षले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
एउटा पुल मात्र होइन, सामाजिक एकताको प्रतीकपहिलो पटक पुल निर्माण गर्नु, बाढीले बगाएपछि पुनः हिम्मतका साथ दोस्रो पटक निर्माण गर्नु र सबैलाई जोड्ने अभियानलाई सफल बनाउनु सामान्य उपलब्धि होइन।
यो केवल एउटा अस्थायी पैदल झोलुङ्गे पुलको पुनर्निर्माण मात्र नभई विपद्को समयमा एकले अर्कालाई साथ दिने सामाजिक एकता, मानवीय भावना, सामूहिक जिम्मेवारी र जनश्रमदानको जीवन्त उदाहरण बनेको छ।
सरकार, जनप्रतिनिधि, सामाजिक संघसंस्था, सुरक्षा निकाय र स्थानीय नागरिक एकजुट भएमा कठिनभन्दा कठिन परिस्थितिमा पनि समाधान सम्भव हुन्छ भन्ने सन्देश याङ्खोला पुल पुनर्निर्माण अभियानले दिएको छ।याङ्खोलाको यो पुल साझा पसिना, साझा योगदान र साझा एकताको प्रतीक बनेको छ।





