देवानगञ्ज घटना: विनय यादवको आमरण अनशनप्रति महिन्द्र राय यादवको ध्यानाकर्षण, छानबिन र वार्ताको माग

देवानगञ्ज घटना: विनय यादवको आमरण अनशनप्रति महिन्द्र राय यादवको ध्यानाकर्षण, छानबिन र वार्ताको माग

काठमाडौं १९ साउन

नेपाल कम्युनिस्ट पार्टीका नेता, पूर्व सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवले माइतीघर मण्डलामा जारी आमरण अनशनप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते राति भएको हिंसात्मक घटनालाई लिएर राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले काठमाडौंको माइतीघरमा आमरण अनशन सुरु गरेका छन्। उक्त अनशन र तराई–मधेसको शान्ति–सुरक्षाको विषयलाई लिएर नेता यादवले सरकारलाई तत्काल पहलकदमी लिन आग्रह गरेका हुन्।

साउन १८ गते जारी ध्यानाकर्षण तथा सुझाव वक्तव्यमार्फत पूर्वमन्त्री यादवले तराई–मधेसका केही जिल्लामा सामाजिक सद्भाव कायम राख्न सरकारले उच्च संवेदनशीलता देखाउनुपर्नेमा जोड दिएका छन्।

“समस्याको समाधान अशान्ति र भिडन्तबाट हुन सक्दैन। सरकारले तत्काल वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण निकास खोज्नुपर्छ,” यादवले भनेका छन्।

यादवले सरकारसमक्ष राखेका मुख्य मागहरू:

तत्काल वार्ता: माइतीघरमा अनशनरत् पक्षसँग बिना ढिलाइ वार्ता र संवाद सुरु गर्ने।

निष्पक्ष छानबिन: देवानगञ्जको हिंसात्मक घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने।

कारबाही र न्याय: दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने र पीडितलाई पूर्ण न्यायको अनुभूति दिलाउने।

साथै, नेता यादवले तराई–मधेसमा सामाजिक सद्भाव, शान्ति र अमनचयन कायम राख्नका लागि सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षहरूलाई संयमित र जिम्मेवार बन्नसमेत अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।