पर्यटन उठे, नेपाल उठ्छ’ नारासहित युविका भण्डारीको अनुभवी टोली चुनावी मैदानमा, महासचिवमा ढकाल र कोषाध्यक्षमा प्याकुरेल
पर्यटन उठे, नेपाल उठ्छ’ नारासहित युविका भण्डारीको अनुभवी टोली चुनावी मैदानमा, महासचिवमा ढकाल र कोषाध्यक्षमा प्याकुरेल

काठमाडौं २० साउन
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को सन् २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ। यसैबीच अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल नारासहित मैदानमा उत्रिएको उक्त टोलीले पर्यटन व्यवसायको संरक्षण, संस्थागत सुधार, सुशासन, पारदर्शिता र व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएको जनाएको छ।
लामो समयदेखि नेपालको पर्यटन तथा ट्राभल क्षेत्रमा सक्रिय रहँदै आएकी भण्डारी नाट्टाकी पूर्व महासचिवसमेत हुन्। संस्थागत नेतृत्व, पर्यटन क्षेत्रका चुनौती तथा सम्भावनाबारेको अनुभव र व्यवसायीहरूको साझा हितका पक्षमा निरन्तर सक्रिय रहँदै आएकी भण्डारीको उम्मेदवारीलाई पर्यटन क्षेत्रले चासोका साथ हेरिरहेको छ।
भण्डारी नेतृत्वको प्यानलमा महासचिव पदमा कृष्णप्रसाद ढकाल उम्मेदवार रहेका छन्। पर्यटन व्यवसायसँगै व्यवस्थापन, वित्तीय अनुशासन र उद्यमशीलतामा अनुभव हासिल गरेका ढकालले नाट्टालाई समयानुकूल, उत्तरदायी र परिणाममुखी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष भण्डारी र महासचिवका उम्मेदवार ढकालको संयोजनले संस्थागत नेतृत्वलाई थप प्रभावकारी बनाउने विश्वास समर्थकहरूको छ।
सार्वजनिक गरिएको प्यानलअनुसार वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा धकनाथ काफ्ले, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमा कुमारी प्याकुरेल तथा सह–कोषाध्यक्षमा बिदुर खतिवडा उम्मेदवार रहेका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्रप्रसाद त्रिपाठी, प्रदीपप्रसाद उदय, बिवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता र होमबहादुर परियार उम्मेदवार बनेका छन्। पर्यटन उद्योगका विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यवसायीहरूको सहभागिताले प्यानललाई समावेशी, सक्षम र सन्तुलित बनाएको बताइएको छ।
टोलीले नाट्टालाई अझ सशक्त, पारदर्शी, उत्तरदायी, व्यावसायिक तथा प्रविधिमैत्री संस्था बनाउने लक्ष्य अघि सारेको छ। व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन नीति सुधारका लागि सरकारसँग प्रभावकारी समन्वय, अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सहकार्य विस्तार, डिजिटल प्रविधिको अधिकतम उपयोग, व्यवसायीको क्षमता अभिवृद्धि तथा पर्यटन उद्योगको दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ।
कोभिड–१९ महामारीपछि पुनरुत्थानको चरणमा रहेको नेपालको पर्यटन उद्योग नयाँ अवसर र चुनौतीबीच अघि बढिरहेका बेला नाट्टाको आगामी नेतृत्वलाई दूरदर्शी र प्रभावकारी हुनुपर्ने आवश्यकता व्यवसायीहरूले औँल्याउँदै आएका छन्। त्यसैले यसपटकको निर्वाचनलाई केवल नेतृत्व परिवर्तन नभई निजी पर्यटन क्षेत्रको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यसैबीच देशभरका विभिन्न ट्राभल तथा टुर व्यवसायीहरूले युविका भण्डारी नेतृत्वको प्यानलप्रति समर्थन जनाउँदै अनुभवी र परिणाममुखी नेतृत्वलाई विजयी गराउन आग्रह गरेका छन्। महासचिवका रूपमा रहँदा भण्डारीले संस्थागत सुधार, व्यवसायीका मुद्दा उठान तथा नाट्टाको गरिमा अभिवृद्धिमा खेलेको भूमिकाका आधारमा अध्यक्ष पदमा पनि प्रभावकारी नेतृत्व दिने विश्वास व्यक्त गरिएको छ। महासचिवका उम्मेदवार कृष्णप्रसाद ढकालको व्यवस्थापकीय क्षमता र व्यावसायिक अनुभवले संस्थालाई थप गतिशील बनाउने अपेक्षा पनि गरिएको छ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्यानलहरूले आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका बेला युविका भण्डारी–कृष्णप्रसाद ढकाल नेतृत्वको टोली अनुभव, संस्थागत योगदान, पारदर्शी नेतृत्व, स्पष्ट कार्ययोजना र व्यवसायीप्रतिको उत्तरदायित्वलाई आफ्नो मुख्य चुनावी आधार बनाएर चुनावी अभियानलाई तीव्र बनाइरहेको छ। अब आगामी नेतृत्वको टुंगो नाट्टाका सदस्य व्यवसायीहरूको मतबाट लाग्नेछ।





