जसपा र तमलोपाका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता–कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश
जसपा र तमलोपाका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता–कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

जनकपुरधाम ६ धनुषा
जनता समाजवादी पार्टी (जसपा) र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय सदस्यसहित विभिन्न राजनीतिक दलका दर्जनौँ नेता तथा कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।
राष्ट्रिय एकता दल धनुषाले जनकपुरधाममा आयोजना गरेको ‘हिन्दू राष्ट्रका लागि पार्टी प्रवेश’ कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य उर्मिला देवी महतो, तमलोपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा प्रत्यासी श्याम सुन्दर साहलगायत विभिन्न दलमा आबद्ध नेता–कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश गरेका हुन्।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपालको मौलिक पहिचान, धार्मिक तथा सांस्कृतिक अस्तित्वको संरक्षणका लागि हिन्दू राष्ट्रको पुनर्स्थापना आवश्यक रहेको दाबी गरे।
“नेपालको मौलिक पहिचान र धार्मिक–सांस्कृतिक अस्तित्व रक्षाका लागि हिन्दू राष्ट्रको पुनर्स्थापना अनिवार्य भइसकेको छ,” यादवले भने, “मधेस र समग्र देशको हितका लागि सनातन धर्मावलम्बीहरू एउटै राजनीतिक मञ्चमा आउन आवश्यक छ।”
पार्टी प्रवेश गरेका तमलोपाका पूर्व केन्द्रीय सदस्य श्याम सुन्दर साहले परम्परागत राजनीतिक दलहरूले मधेसका मुद्दा तथा सनातन संस्कृतिसँग जोडिएका विषयलाई पर्याप्त प्राथमिकता दिन नसकेको आरोप लगाए। देश, धर्म र मधेसको हितका लागि आफू राष्ट्रिय एकता दलमा आबद्ध भएको उनको भनाइ थियो।
त्यस्तै, जसपाकी पूर्व केन्द्रीय सदस्य उर्मिला देवी महतोले जनताको आस्था तथा धार्मिक पहिचानको संरक्षणलाई प्राथमिकता दिँदै आफूहरू राष्ट्रिय एकता दलमा जोडिएको बताइन्।
कार्यक्रममा मनीष पूर्वे, विजय सिंह र हेमन्त महतोले मधेसमा हिन्दू राष्ट्रको पक्षमा जनमत विस्तार हुँदै गएको दाबी गर्दै राष्ट्रिय एकता दलले अघि सारेका राजनीतिक तथा सांस्कृतिक मुद्दाले मधेसमा नयाँ राजनीतिक बहस सिर्जना गरेको बताए।
राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य रामनाथ यादवले सञ्चालन गरेको कार्यक्रममा धनुषाका विभिन्न स्थानबाट आएका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता थियो।
पार्टीले पछिल्लो समय मधेसका विभिन्न जिल्लामा संगठन विस्तार तथा सदस्यता अभियानलाई तीव्रता दिँदै आएको जनाएको छ। पछिल्लो पार्टी प्रवेशलाई पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गर्ने अभियानकै निरन्तरताका रूपमा दलले लिएको छ।






