बारामा तस्करीको ‘लाइन’ धन्दा मौलाउँदै : एसपी कुँवरको संरक्षणमा साह र लुईटेलमाथि लाखौँ असुलीको गम्भीर आरोप
बारामा तस्करीको ‘लाइन’ धन्दा मौलाउँदै : एसपी कुँवरको संरक्षणमा साह र लुईटेलमाथि लाखौँ असुलीको गम्भीर आरोप

अजय चौरसिया /वीरगंज १० भदौ
बारा जिल्ला पछिल्लो समय आपराधिक तथा तस्करीका गतिविधिका लागि संवेदनशील बन्दै गएको भन्दै स्थानीयस्तरमा चिन्ता व्यक्त हुन थालेको छ । जिल्लाका विभिन्न नाकाबाट हुने भनिएको अवैध ओसारपसारमा प्रहरी प्रशासनको भूमिका माथि समेत प्रश्न उठ्न थालेको छ ।
विशेषगरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा रहेको प्रहरी संयन्त्र अन्तर्गत अपराध अनुसन्धान (क्राईम) शाखा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट तस्करी वापत अवैध रकम असुली हुने गरेको आरोप सार्वजनिक रूपमा उठ्न थालेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले बिगतका समयमा प्रहरी हवलदार सुजित राउतलाई अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबारीहरुबाट रकम असुली गराई राखेको समाचारहरु विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन भए पछि राउत र पटेललाई हटाई हाल प्रहरी निरीक्षक साहले आफै तस्करहरु सँग मरमोलाई गरी आफ्नो र प्रहरी उपरिक्षक कुवँरको नाममा रकम असुली गरिराखेको समाचार स्रोतले जनाएको छ ।
घुमुवा राउतले आर्थिक अपराध गरी कार्यालयको नाम बदनाम गराएको भन्दै उनलाई हटाएको भनिए पनि वास्तविक्ता फरक रहेको बताईन्छ । प्रहरी निरीक्षक साहले भने अनुसारको रकम घुमुवाले दिन नसकेको तथा तस्करी वापतको अवैध रकममा घोटाला गरेको आरोपमा राउतलाई हटाईएको समाचार स्रोतको दाबी रहेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहत पर्ने काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट तस्करी गर्ने तस्करहरुलाई प्रहरी निरीक्षक साहले कार्यालयमै बोलाई “एसपीसाबको भाग यति र मेरो भाग यति जम्मा गर्नु, जम्मा गर्नेलाई राती ११ बजे देखि बिहान ४ बजे भित्रमा नाका कटाउनु पर्ने शर्त सहित लाईन दिने गरेको” कपडाको काम गर्ने एक तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी तथा आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रहरी निरीक्षक साहले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक प्रति तस्कर १० हजार देखि ५० हजार गरी ७ देखि १० लाख सम्म प्रहरी निरीक्षक साहले बुझने गरेको तथा एसपी कुवँरको भागमा मासिक २० देखि २५ लाख सम्म असुली गरी तस्करीको लाईन सुचारु गराएको ती स्रोतको भनाई रहेको छ ।
सो नाका भएर भारतबाट अरविन्दले हार्डवेयर, रजनीगन्धा र कस्मेटिकको तस्करी गरे वापत ईप्रकालाई ५० हजार र एसपीलाई ४० हजार, शत्रुधन र सन्दिपले चल्लाको तस्करी गरे वापत ईप्रकालाई ६० हजार र एसपीलाई ४५ हजार, भोला, मास्टर, सन्दीप, राकेश र अरबिन्दले कपडाको तस्करी गरे वापत ईप्रकालाई १ लाख ९० हजार र एसपीलाई १ लाख ५० हजार बुझाई तस्करीको लाईन लिएको समाचार स्रोतको दाबी रहेको छ । नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु प्रहरी प्रशासनको मिलोमतोमा भारततर्फ निर्वाध रुपमा तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ ।
यतिमात्र होईन, देशभरी नै लागु औषध विरुद्ध अभियान चलिरहेको भए पनि सिम्रौनगढ नाकाबाट लागु औषधको कुख्यात तस्कर राजेशले प्रहरी निरीक्षक साह सँग साठगाठ गरी लागुऔषध गाँजाको तस्करी निर्वाध रुपमा गरिरहेको समाचार स्रोतले जनाएको छ ।
गत महिना ईप्रका सिम्रौनगढका प्रहरी निरीक्षक साहले अवैध कारोबारीहरुलाई प्रशय दिएको र तस्करबाट असुली गरे गराएको समाचारहरु प्रशासन भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक साहलाई कारवाही स्वरुप तानेको भए पनि उनी रकमको बलमा तथा एक जना पूर्व आईजीपीको पावर लगाई प्रहरी प्रधान कार्यालय हाजिर नै नभई पुनः ईप्रका सिम्रौनगढमै बसन सफल भएको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी प्रहरी नायब निरीक्षक (सई) नारायण लुईटेलले प्रहरी उपरिक्षक कुँवरलाई मासिक २० लाख बुझाउने शर्तमा जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखाको प्रमुख बनेको प्रहरी स्रोतको भनाई रहेको छ । सई लुईटेलले सिम्रौनगढ क्षेत्र बाहेक बाराको छतवा, मुसहर्वा, मटिअर्वा लगायतका नाकाहरुबाट हुने अवैध कारोबारहरुबाट असुली गरी गराई रहेको समाचार स्रोतले जनाएको छ । सई लुईटेलले भारतिय नाकाहरु सँगै बाराको प्रसौनी गाउँपालिका–६ स्थित बाँसघारीमा जुवाको खालबाट दैनिक २० हजार देखि ३० हजार सम्म, त्यस्तै वनजंगलबाट हुने अवैध काठ तस्करी, गिटी, बालुवा तथा अवैध घरेलु मदिरा भठ्ठीहरुबाट लाखौ लाख असुली गरि गराईराखेको ती स्रोतको दाबी रहेको छ ।
सई लुईटेलले प्रहरी संगठनको निति निर्देशनलाई धोती लगाएको भन्दै समाचार प्रकाशन भए पनि उनले आफु एआईजी राजन केसीको मान्छे हुँ, जति समाचार लेखे पनि मलाई फरक पर्दैन भनि घुर्की लगाउने गरेको समाचार स्रोतको भनाई रहेको छ । सई लुईटेल बारामा आएको ३ महिना मै एआईजी केसीको पावर लगाई करिब ९ महिना सिमावर्ती नाका प्रहरी चौकी मुसहर्वाको ईन्चार्ज बस्न सफल भए, मुसहर्वाबाट जिल्ला हाजिर भए पछि मालदार शाखा क्राईमको जिम्मेवारी बुझी हाल असुली कार्य जारी राखेको ती स्रोतले जनाएको छ ।
बाराका एसपी कुँवरले आफ्ना दुतहरु प्रहरी निरीक्षक साह र सई लुईटेललाई परिचान गरी अवैध कार्यहरुलाई प्रशय दिईरहेको तथा आर्थिक लाभ लिनमा मस्त रहेको भए पनि यस तर्फ मधेश प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयको ध्यान नजानुले आम नागरिकहरु आश्चर्यमा परेका छन् ।





