BRICS नेपालको लागि एक गतिशील सेतु* एक परिपक्व कुटनीतिको आवश्यकता :- डा.विजय दत्त
BRICS नेपालको लागि एक गतिशील सेतु* एक परिपक्व कुटनीतिको आवश्यकता:- डा.विजय दत्त

भारतको नयी दिल्लीमा भर्खरै सम्पन्न १८औँ BRICS प्लस शिखर-सम्मेलन र त्यसक्रममा सर्वसम्मतिले पारित १४०-बुँदे ‘नवी दिल्ली घोषणापत्र’ले विश्व राजनीति र अर्थतन्त्रमा एउटा दूरगामी दिशावोध गराएको छ। सम्मेलनको पार्श्वभागमा चीनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तामा प्रयोग भएको शब्दावली “दीर्घकालीन विकास र रणनीतिक दृष्टिकोण” ले दुई छिमेकी शक्तिहरूबीच ‘प्रतिस्पर्धात्मक सहकार्य’ (Competitive Cooperation) को नयाँ अध्याय सुरु भएको सङ्केत गरेको छ ।
लामो संक्रमणकाल र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको नेपाल जस्तो अति कम विकसित राष्ट्रका लागि यो नयाँ क्षेत्रीय गतिशीलता कुनै द्विविधामा अलमलिने समय होइन, बरु परिपक्व कुटनीतिमार्फत अधिकतम राष्ट्रिय लाभ हासिल गर्ने निर्णायक अवसर रहेको छ ।
१. BRICS नयी दिल्ली घोषणापत्रका मुख्य आयामहरू
४५ पृष्ठ र १४० बुँदामा समेटिएको नयी दिल्ली घोषणापत्रले मुख्य रूपमा दक्षिण-विश्व (Global South) को हित, बहुध्रुवीय विश्व व्यवस्था र दिगो आर्थिक पुनर्उत्थानलाई प्राथमिकतामा राखेको छ:-
स्थानीय मुद्रामा व्यापार र वित्तीय प्रणाली: अमेरिकी डलरमाथिको निर्भरता घटाउँदै सदस्य राष्ट्रहरूबीच स्थानीय मुद्रामा व्यापार (Local Currency Trade) र अन्तर-देशीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने सहमति बनेको ।
बहुपक्षीय संस्थागत सुधार: संयुक्त राष्ट्रसंघ (UNSC) मा भारत र ब्राजिल जस्ता राष्ट्रको भूमिका बढाउने र विश्व व्यापार संगठन (WTO) को विवाद समाधान संयन्त्रलाई पुनर्जीवित गर्ने आह्वान भएको ।
ऊर्जा सुरक्षा र हरित रूपान्तरण: नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण र दिगो ऊर्जा रूपान्तरणमा संयुक्त लगानी र साझेदारी भएको ।
प्रविधि, AI र डिजिटल पूर्वाधार: AI र Digital Public Infrastructure को प्रयोगमार्फत विकासशील देशहरूको क्षमता अभिवृद्धि गर्ने।
एकपक्षीय शुल्क र संरक्षणवादको विरोध: विश्व व्यापारमा बाधा पुर्याउने एकपक्षीय शुल्क (Tariffs) र आर्थिक प्रतिबन्धहरूको विरोध गर्ने ।
२. BRICS को नयाँ आयामबाट नेपाललाई के फाइदा ?
BRICS को विस्तारित संरचना (BRICS+) र यसले अगाडि सारेका नीतिहरूबाट नेपालले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो लाभ लिन सकिन्छ –
NDB (New Development Bank) मार्फत लगानी पहुँच: नेपालले न्यू डेभलपमेन्ट बैंकको सदस्यता वा साझेदारीमार्फत जलविद्युत्, सडक र सहरी पूर्वाधारका ठूला आयोजनामा सहुलियतपूर्ण ऋण तथा अनुदान प्राप्त गर्न सक्ने छ ।
क्षेत्रीय कनेक्टिभिटी र त्रिदेशीय व्यापार: भारत र चीनबीच सीमापार व्यापार र पारवहन सहजीकरण हुँदा नेपालले ट्रान्स-हिमालयाली सञ्जालमार्फत दुवै देश जोड्ने मुख्य व्यापारिक विन्दु बन्ने अवसर पाउँछ।
वित्तीय र डिजिटल प्रविधि हस्तान्तरण: BRICS ले जोड दिएको अन्तर-देशीय भुक्तानी प्रणाली (Cross-border Payment) र UPI जस्ता प्रविधिको विस्तारले नेपालको पर्यटन, व्यापार र वैदेशिक व्यापार सहजीकरणमा प्रत्यक्ष राहत पुर्याउने छ ।
जलवायु वित्त र हरित ऊर्जा साझेदारी: विश्वव्यापी जलवायु कोष र हरित प्रविधिमा BRICS को ध्यान केन्द्रित हुँदा clean energy प्रविधि अपनाउन र जलवायु अनुकूलन कोषमा पहुँच स्थापित गर्न नेपाललाई सहज हुन सक्छ ।
३. दुई हात्तीको मिलेमत्तो वा लडाइँमा नेपालको कुटनीतिक चातुर्य
हाम्रो परम्परागत लोकोक्ति छ-“दुई हात्ती लड्दा पनि घाँसकै नाश, मिल्दा पनि घाँसकै नाश।” विगतमा हाम्रा शासकहरूले दुई छिमेकी बीचको दूरी वा अविश्वासमा खेलेर क्षणिक सत्तास्वार्थ त पूरा गरे, तर देशलाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाइराखे।
अब भारत र चीन मिल्दा नेपाल ओझेलमा पर्ने वा दुवैको प्रतिस्पर्धामा नेपाल पिसिने त्रासबाट बाहिर निस्कनुपर्छ। दुवै छिमेकी रणनीतिक रूपमा नजिकिँदा नेपालका लागि सीमापार व्यापार, ऊर्जा व्यापार र त्रिदेशीय साझेदारी (Trilateral Cooperation) को ढोका खुल्ने छ ।
४. गतिशील सेतु’ देखि सम्पन्न राष्ट्र’ सम्म
नयाँ पुस्ता र वर्तमान नेतृत्वले अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण Soft Power बिना विश्वमञ्चमा स्वाभिमान कायम रहन सक्दैन भन्ने सत्यलाई स्वीकार्नुपर्छ। यसका लागि निम्न कदमहरू तत्काल चाल्नु आवश्यक छ:- आर्थिक कुटनीतिलाई प्राथमिकता: छिमेकीहरूको आर्थिक समृद्धिसँग नेपालको पूर्वाधार, पर्यटन र जलविद्युत्लाई एकीकृत गर्नुपर्ने ।
संक्रमणकालीन मानसिकताको अन्त्य: असंलग्न परराष्ट्र नीतिलाई आधुनिक सन्दर्भमा परिमार्जन गर्दै ‘सक्रिय सन्तुलन’ र राष्ट्रिय हितमा आधारित व्यावहारिक कुटनीति सञ्चालन गर्ने।
’गतिशील सेतु’ (Dynamic Bridge) को रूपान्तरण: चीनको BRI र भारतका क्षेत्रीय पूर्वाधार सञ्जाललाई जोड्ने गरी नेपाललाई सुरक्षित trans-Himalayan transit corridor को रूपमा विकास गर्ने।
’सम्पन्न राष्ट्र’को पहिचान: दुवै छिमेकीका लागि नेपाल सुरक्षाको दृष्टिले पूर्ण भरपर्दो, तटस्थ र शान्ति क्षेत्र हो भन्ने विश्वास दिलाउने।
दुई ठूला छिमेकीको संवाद र रणनीतिक समझदारीले सिर्जना गरेको यो नयाँ अवसरलाई नेपालले आफ्नो समृद्धिको इन्जिन बनाउनैपर्छ। समयले विवेक र साहसिक कुटनीतिक पहलकदमीको माग गरिरहेको छ। यो सुनौलो अवसरको सदुपयोग परिपक्व कुटनीतिबाट गर्नैपर्ने देखिन्छ ।






