मधेशको नेतृत्व अब नयाँ पुस्ताको हातमा आउनुपर्छ : कलैयामा युवाहरूको जोड

‘मधेश अबको बाटो’ विषयक अन्तरक्रियामा पुराना नेतृत्वप्रति असन्तुष्टि, राजनीतिक पुस्तान्तरण र सामाजिक न्यायसहितको विकासमा जोड

कलैया,बारा १५ कार्तिक

मधेश आन्दोलनको इतिहास, उपलब्धि, चुनौती तथा आगामी राजनीतिक दिशाबारे समीक्षा गर्दै मधेशको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।

बारा जिल्लाको कलैयास्थित करण राज प्यालेसमा सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश : अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा आयोजित कार्यक्रममा नागरिक अगुवा, पूर्व सांसद, सामाजिक अभियन्ता, अधिवक्ता, महिला नेतृ, सहिद परिवारका सदस्य तथा युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले मधेश आन्दोलनले उठाएका राजनीतिक, सामाजिक तथा संवैधानिक मुद्दाहरू अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको उल्लेख गर्दै अब मधेशी युवाहरू संगठित भएर आफ्नो नेतृत्व आफैँ निर्माण गर्नुपर्ने धारणा राखेका थिए।

नागरिक अगुवा उमेशलाल दासले सरकारले मधेशका एजेण्डा सम्बोधन नगरे मधेशी युवाहरूले कसैको मुख नताकी आफैँ मधेशको नेतृत्व लिनुपर्ने बताए। उनले मधेशको अधिकार र पहिचानका लागि नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए।

त्यस्तै, मधेश प्रदेशका पूर्व सांसद विक्की यादवले ‘मधेशको विकल्प मधेश नै हो’ भन्दै ओली सरकार र बालेन सरकारबाट मधेशका सवालमा अपेक्षित फरक नदेखिएको धारणा व्यक्त गरे। उनले मधेशी युवाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्व लिनुपर्ने र मधेशी राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको बताए।

सामाजिक अभियन्ता तथा अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा परिवर्तनको नयाँ बहस सुरु भएको उल्लेख गर्दै पुराना राजनीतिक दल तथा नेतृत्वप्रतिको विश्वसनीयता कमजोर हुँदै गएको बताए। मधेशका माग सम्बोधन गराउन युवाहरूले सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने र माग पूरा नभए नयाँ पुस्ताले संगठित रूपमा मधेशको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

उनले मधेशी युवाहरू एकजुट भएर मधेशी राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए।

अभियन्ता ओमप्रकाश चौधरीले मधेशलाई आधार क्षेत्र बनाउँदै आएका राष्ट्रिय राजनीतिक दलहरूमा समेत मधेशी, जनजाति तथा दलित समुदायको राजनीतिक प्रतिनिधित्व र प्रतिस्पर्धाको अवस्था कमजोर रहेको धारणा राखे। उनले पुराना मधेशी नेताहरूको विकल्पमा नयाँ अनुहारलाई प्रोत्साहन गर्नुपर्ने बताए।

स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेशमा स्वच्छ छवि भएका नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै युवाहरूलाई राजनीतिमा अगाडि आउन आग्रह गरिन्।

सामाजिक अभियन्ता सौरभ चौगाईंले मधेशमा जनसंख्याको ठूलो हिस्सा रहे पनि गुणस्तरीय विद्यालय, मेडिकल कलेज तथा इन्जिनियरिङ कलेजको पर्याप्त विकास हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले अबको मधेशको बाटो सामाजिक न्याय, सुशासन र समग्र विकास हुनुपर्ने बताए।

सहिद परिवारलाई सम्मान, आन्दोलनका उपलब्धिको समीक्षा

शहीद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवारका आमा–बुवा तथा अन्य सदस्यहरूलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा राजेश पटेल, सनी जयसवाल, अधिवक्ता प्रेम चौधरी, रामचन्द्र यौधरी, प्रभु पटेल, राधिका न्यौपाने, श्याम गुप्ता, जगत कुशवाहालगायत दर्जनौँ वक्ताहरूले मधेश आन्दोलनका क्रममा सयौँले सहादत दिए पनि शहीदहरूको सपना अझै पूर्ण हुन नसकेको धारणा राखे।

वक्ताहरूले मधेश आन्दोलनको जगमा स्थापित संघीयताको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै संघीयताको मर्म कमजोर पार्ने प्रयासप्रति मधेशी जनता सचेत र सजग हुनुपर्ने बताए।

त्यसैगरी, भारतसँगको रोटीबेटीको सम्बन्ध रहेको खुला सीमाबाट सामान्य खाद्यान्नसमेत ल्याउँदा सर्वसाधारणले भोग्नुपरेको कठिनाइ, विभिन्न प्रतिबन्धका कारण सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनमा परेको असर तथा सीमा क्षेत्रका जनताको समस्याबारे पनि चर्चा गरिएको थियो।

शहीदको सपना अधुरै, पुरानो नेतृत्वप्रति असन्तुष्टि

वक्ताहरूले मधेश आन्दोलनका शहीदहरूले दिएको बलिदानअनुसार राज्यबाट सम्मान र कदर हुन नसकेको गुनासो गरे। मधेश प्रदेशको राजनीतिक नेतृत्वमाथि समेत भ्रष्टाचार र सुशासनको विषयमा प्रश्न उठाउँदै मधेशी जनताको अपेक्षाअनुसार काम हुन नसकेको उनीहरूको भनाइ थियो।

पुराना मधेशी दल तथा नेतृत्वप्रति जनताको भरोसा कमजोर हुँदै गएको उल्लेख गर्दै वक्ताहरूले नयाँ पुस्ताले वैकल्पिक राजनीतिक सोच, स्पष्ट एजेण्डा र सामूहिक नेतृत्वका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रमको अन्त्यमा मधेशका कलाकारहरूले सांस्कृतिक प्रस्तुतिमार्फत मधेश आन्दोलनका विभिन्न झाँकी प्रदर्शन गरेका थिए। सांस्कृतिक प्रस्तुतिले आन्दोलनको इतिहास, शहीदहरूको योगदान र मधेशी पहिचानलाई स्मरण गराएको थियो।

कार्यक्रमले मधेश आन्दोलनका उपलब्धि र अपूरा मुद्दाको समीक्षा गर्दै आगामी दिनमा मधेशी युवाको नेतृत्व, राजनीतिक पुस्तान्तरण, सामाजिक न्याय, सुशासन र विकासलाई मुख्य एजेण्डा बनाउनुपर्ने सन्देश दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।