कलैयामा नेपाली कम्युनिस्ट पार्टीलाई धक्का, दुई जिम्मेवार नेताद्वारा पदबाट राजीनामा

कलैयामा नेपाली कम्युनिस्ट पार्टीलाई धक्का, दुई जिम्मेवार नेताद्वारा पदबाट राजीनामा

बारा, कलैया, २६ कार्तिक

बाराको कलैया उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद देखिएको छ। पार्टीका कलैया उपमहानगरपालिका सह–इन्चार्ज बैधनाथ साह कलवार र सह–संयोजक आबिद हुसेन अंसारीले आ–आफ्नो पदबाट राजीनामा दिएपछि पार्टीभित्र हलचल उत्पन्न भएको छ।

दुवै नेताले पार्टीको नेतृत्व तहप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे सार्वजनिक गरेका हुन्।

लामो समयदेखि राजनीतिमा सक्रिय बैधनाथ साह कलवार २०४२ सालदेखि तत्कालीन नेकपा एमालेमा आबद्ध भई निरन्तर पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनले तत्कालीन कलैया नगरपालिकामा पार्टीको प्रतिनिधित्व गर्दै विभिन्न जिम्मेवारीसमेत निर्वाह गरेका थिए। एमाले हुँदै नेकपा एकीकृत समाजवादी र त्यसपछि नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका कलवार हाल पार्टीका मधेस प्रदेश सदस्यसमेत रहेका छन्।

कलवारले पार्टीभित्र गुटगत राजनीति र गुटबन्दी बढ्दै गएको आरोप लगाएका छन्। पार्टीमा लामो समय योगदान दिएका नेता तथा कार्यकर्ताको सक्रियता र योगदानभन्दा गुटगत स्वार्थलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका उनले सह–इन्चार्ज पदबाट राजीनामा दिएका हुन्।

त्यसैगरी, आबिद हुसेन अंसारी तत्कालीन नेकपा माओवादी केन्द्रबाट कलैया उपमहानगरपालिकाको सह–संयोजकको जिम्मेवारीमा रहेर काम गर्दै आएका नेता हुन्। उनले मुस्लिम मुक्ति मोर्चाको जिल्ला अध्यक्ष तथा प्रदेश सह–संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

अंसारीले पनि जिल्ला नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। नेतृत्व तहबाट भइरहेका गतिविधिले पार्टीलाई कमजोर बनाउँदै राजनीतिक आधार गुमाउने अवस्था सिर्जना गरेको उनको आरोप छ।

कलैया उपमहानगरपालिकामा पार्टीका दुई जिम्मेवार नेताले एकैपटक पदबाट राजीनामा दिनुले पार्टीको आन्तरिक संगठनात्मक अवस्था, नेतृत्वको कार्यशैली र संगठनभित्रको समन्वयमाथि प्रश्न उठाएको छ।

राजनीतिक संगठनलाई बलियो बनाउन नेतृत्व र कार्यकर्ताबीच आपसी विश्वास, सहकार्य तथा योगदानको उचित मूल्यांकन आवश्यक हुन्छ। तर पार्टीभित्र गुटगत स्वार्थ र आन्तरिक असमझदारी बढ्दै गएको अवस्थामा लामो समयदेखि योगदान दिएका नेताहरूले समेत जिम्मेवारी त्याग्नुपर्ने परिस्थिति आउनु नेतृत्वका लागि आत्मसमीक्षाको विषय बनेको छ।

दुई नेताको राजीनामा पद त्यागमा मात्र सीमित नरही पार्टीभित्र बढ्दै गएको असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वासको संकेतका रूपमा हेरिएको छ। अब पार्टी नेतृत्वले उत्पन्न असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ र संगठनात्मक एकता कायम गर्न के कदम चाल्छ भन्ने विषय चासोको रूपमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।