दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनए टोलीको सहभागिता, सफल बनाउन युवा उपाध्यक्ष भिमसेन थापाको सबैलाई आह्वान
दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनए टोलीको सहभागिता, सफल बनाउन युवा उपाध्यक्ष भिमसेन थापाको सबैलाई आह्वान

काठमाडौं ५ मंसिर
कर्णाली प्रदेशको सुर्खेतमा आगामी डिसेम्बर २ देखि १५ सम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता – २०२६ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीले सहभागिता जनाउने भएको छ। विश्वका विभिन्न मुलुकमा रहेका नेपाली खेलाडीहरूको प्रतिभा, क्षमता र खेलकौशललाई नेपालको राष्ट्रिय खेलकुदसँग जोड्ने उद्देश्यसहित हुन लागेको यस सहभागितालाई सफल बनाउन एनआरएनएका युवा उपाध्यक्ष एवं एनआरएनए स्पोर्ट्स एकेडेमीका अध्यक्ष भिमसेन थापाले विश्वभरका गैरआवासीय नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्।
थापाले एनआरएनए टोलीको राष्ट्रिय खेलकुदमा सहभागिता संघका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसलाई सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पदाधिकारी तथा सदस्य, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), स्पोर्ट्स एकेडेमीका पदाधिकारी, खेलाडी तथा विश्वभर रहेका सम्पूर्ण नेपालीलाई गरिमामय उपस्थिति, साथ र सहयोगका लागि हार्दिक अनुरोध गरेका छन्।
उनका अनुसार विदेशमा रहेका नेपाली खेलाडीहरूको प्रतिभा र क्षमतालाई नेपालको राष्ट्रिय खेलकुदको मञ्चसँग जोड्नु यस सहभागिताको महत्त्वपूर्ण उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय स्तरमा खेलकुदमा सक्रिय नेपाली खेलाडीलाई आफ्नो मातृभूमिमा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विश्वभर छरिएर रहेका नेपालीबीच एकता, आत्मीयता र राष्ट्रिय भावनालाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
थापाले यो सहभागिता केवल खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने विषयमा सीमित नरहेको उल्लेख गर्दै यसलाई विश्वभरका नेपालीलाई खेलकुदमार्फत जोड्ने महत्त्वपूर्ण अभियानका रूपमा लिनुपर्ने बताएका छन्। खेलाडीहरूको मनोबल उच्च बनाउन, उनीहरूको प्रतिभालाई प्रोत्साहन गर्न र नेपालको राष्ट्रिय गौरव अभिवृद्धिमा योगदान पुर्याउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ।
उनले प्रतियोगिताको तयारी तथा एनआरएनए टोलीको सहभागिताका लागि आफ्नो तर्फबाट सहयोग र समन्वय गर्ने सम्पूर्ण टिम, सहभागी हुने खेलाडी, स्पोर्ट्स एकेडेमीका पदाधिकारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि यस अभियानलाई सफल बनाउन सबैको निरन्तर साथ र सहकार्यको अपेक्षा गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी डिसेम्बर २ देखि १५ सम्म कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुनेछ। एनआरएनए स्पोर्ट्स एकेडेमीको पहल तथा समन्वयमा हुन लागेको एनआरएनए टोलीको सहभागितालाई ऐतिहासिक र उपलब्धिमूलक बनाउन थापाले सम्पूर्ण गैरआवासीय नेपालीलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन विशेष आग्रह गरेका छन्।






