प्रेस स्वतन्त्रतामाथि सरकारी अंकुशको विरोधमा सप्तरीका पत्रकार सडकमा, प्रशासन कार्यालयअगाडि संयुक्त प्रदर्शन

प्रेस स्वतन्त्रतामाथि सरकारी अंकुशको विरोधमा सप्तरीका पत्रकार सडकमा, प्रशासन कार्यालयअगाडि संयुक्त प्रदर्शन

सप्तरी १० मंसिर

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको भन्दै सप्तरीका पत्रकारहरू सरकारविरुद्ध सडकमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघ सप्तरी शाखाको नेतृत्वमा जिल्लाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीको मूलगेट अगाडि संयुक्त विरोध प्रदर्शन गरेका हुन्।

नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति सरकारले बेवास्ता गरेको तथा प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने खालका नीति तथा निर्णयहरू अघि सारेको भन्दै पत्रकारहरूले विरोध जनाएका हुन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले महासंघका माग तत्काल सम्बोधन गर्न, पत्रकारहरूको अनावश्यक गिरफ्तारी रोक्न र प्रेस स्वतन्त्रताको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

विरोध प्रदर्शनका क्रममा पत्रकारहरूले स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। पत्रकारहरूलाई पटक–पटक पक्राउ गर्ने प्रवृत्ति तथा लोककल्याणकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णयप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवले वर्तमान सरकारले पत्रकारहरूलाई पटक–पटक पक्राउ गर्ने, लोककल्याणकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णय गर्ने र प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने नीति अवलम्बन गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, “वर्तमान सरकारद्वारा पत्रकारहरूलाई पटक–पटक पक्राउ गर्ने, लोककल्याणकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गर्ने तथा प्रेस स्वतन्त्रताको उपहास गर्ने नीतिहरूका विरुद्ध हामी नेपाल पत्रकार महासंघ सप्तरीका पत्रकारहरू विरोध प्रदर्शनमा उत्रिएका हौँ।”

अध्यक्ष देवले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारले स्वतन्त्र रूपमा समाचार लेख्न, नागरिकका आवाज उठाउन र सरकारका कामकारबाहीमाथि प्रश्न गर्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताउनुभयो।

पत्रकारिता कुनै व्यक्ति, राजनीतिक दल वा सरकारको स्वार्थपूर्ति गर्ने माध्यम नभई आम नागरिकको सूचनाको हक सुनिश्चित गर्ने महत्त्वपूर्ण क्षेत्र भएको प्रदर्शनकारीहरूको भनाइ थियो। राज्यका निकायलाई जवाफदेही बनाउने, भ्रष्टाचार तथा अनियमितता उजागर गर्ने र समाजमा हुने अन्यायविरुद्ध आवाज उठाउने पत्रकारितामाथि दबाब सिर्जना हुनु लोकतान्त्रिक व्यवस्थाकै लागि चिन्ताजनक विषय भएको उनीहरूले बताए।

त्यसैगरी, लोककल्याणकारी विज्ञापन वितरणमा सरकारी तथा निजी सञ्चारमाध्यमबीच विभेद गरिनु स्वतन्त्र सञ्चार क्षेत्रको आर्थिक स्थायित्वमाथिको चुनौती भएको पत्रकारहरूको तर्क छ। विज्ञापन वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र समानुपातिक बनाउनुपर्ने उनीहरूको माग छ।

प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हक संविधानप्रदत्त मौलिक अधिकार भएको उल्लेख गर्दै प्रदर्शनकारी पत्रकारहरूले राज्यले पत्रकारहरूलाई निर्भीक र स्वतन्त्र रूपमा पेसागत जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

पत्रकारहरूले महासंघका माग सम्बोधन नभएसम्म प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाका पक्षमा आवाज उठाइरहने सन्देशसमेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।