चितवनमा चीनको सहयोगमा गरिएको हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

चितवनमा चीनको सहयोगमा गरिएको हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

चितवन १० मंसिर 

नेपाल र चीनबीच कृषि अनुसन्धान तथा प्रविधि सहकार्यअन्तर्गत चितवनमा सञ्चालन गरिएको हाइब्रिड धान खेती प्रदर्शन परियोजना सफल भएको छ। परियोजनाअन्तर्गत गरिएको धान खेतीमा प्रतिहेक्टर ६.८६ मेट्रिक टन उत्पादन भएको छ। ८०० दिनभन्दा बढी समयको संयुक्त अनुसन्धान, प्रयोग तथा निरन्तर खेती व्यवस्थापन पछि प्राप्त यो उपलब्धिलाई नेपाल–चीन कृषि सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

चितवनस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा बुधबार आयोजित धान कटानी कार्यक्रममा उक्त उत्पादनको घोषणा गरिएको हो। कार्यक्रममा कृषि वैज्ञानिक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, कृषि विज्ञ तथा स्थानीय गरी करिब १०० जना किसानको सहभागिता रहेको थियो।

चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका निर्देशक तथा धान विशेषज्ञ वाङ छियानले प्रतिहेक्टर ६.८६ टन धान उत्पादन भएको जानकारी दिएका थिए। उनले चिनियाँ प्राविधिकहरूको मार्गदर्शन तथा नेपाली र चिनियाँ कृषि विज्ञहरूको संयुक्त प्रयासका कारण यो सफलता प्राप्त भएको बताए।

नेपाल–चीन कृषि विज्ञान तथा प्रविधि सहकार्यको मुख्य उद्देश्य कृषि अनुसन्धान क्षमता अभिवृद्धि गर्नु, स्थानीय हावापानी अनुकूल प्रविधि भित्र्याउनु तथा किसान र कृषि संस्थाहरूको प्राविधिक सीप विकास गर्नु रहेको छ।

नेपालको अर्थतन्त्र तथा ग्रामीण रोजगारीको महत्वपूर्ण आधार कृषि क्षेत्र भएकाले उन्नत बीउबिजन, आधुनिक खेती प्रविधि र वैज्ञानिक अनुसन्धानको प्रयोगले उत्पादन वृद्धि तथा खाद्य सुरक्षामा सकारात्मक योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

चितवनमा प्राप्त हाइब्रिड धान उत्पादनको सफलतालाई यस दिशामा महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ। यद्यपि, यसको दीर्घकालीन प्रभाव सुनिश्चित गर्न देशका विभिन्न भौगोलिक तथा जलवायु क्षेत्रमा थप परीक्षण, उत्पादन क्षमताको मूल्याङ्कन र उपयुक्त प्रविधि स्थानीय किसानसम्म पुर्‍याउनु आवश्यक देखिन्छ।

नेपाल र चीन दुवै पक्षले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण तथा संस्थागत साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। वैज्ञानिक अनुसन्धानबाट प्राप्त उपलब्धिलाई नेपाली किसानको खेतसम्म पुर्‍याएर कृषि उत्पादन र किसानको जीवनस्तर सुधार गर्नु यस सहकार्यको प्रमुख लक्ष्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।