जनश्रमदान र सामाजिक संस्थाको सहकार्यले बन्यो फड्के पुल, त्यही पुल हुँदै मन्त्रीको सवारी
४५ दिनसम्म ठप्प रहेको आवागमन स्थानीयको सामूहिक प्रयासले पुनः सञ्चालन, दुई चरणमा करिब ६१२ जनाको श्रमदान

रसुवा १० मंसिर
विनाशकारी भोटेकोशी बाढीले पुल बगाएपछि करिब ४५ दिनसम्म आवागमनबाट विच्छेद बनेको रसुवाको स्याफ्रुबेसी क्षेत्रमा स्थानीय जनश्रमदान, सुरक्षाकर्मीको सहयोग र विभिन्न सामाजिक संस्थाको सहकार्यमा निर्माण गरिएको आपतकालीन अस्थायी फड्के पुल सञ्चालनमा आएको छ। स्थानीयको अथक प्रयासबाट निर्माण भएको उक्त पुल हुँदै संघीय महिला तथा बालविकासमन्त्री सीता बादीले समेत यात्रा गर्नुभएको छ।
२०८३ साल भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले रसुवाका सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। बाढीले स्याफ्रुबेसीस्थित महत्वपूर्ण पुलसमेत पूर्ण रूपमा बगाएपछि आमाछोदिङ्मो गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ३ का बासिन्दाको आवागमन प्रभावित बनेको थियो। उक्त पुल धादिङको रुबी भ्याली क्षेत्रसँगको आवागमनका लागि समेत महत्वपूर्ण मानिन्थ्यो।
पुल बगाएपछि स्थानीयले दैनिक आवतजावत, खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानी, बिरामीलाई उपचारका लागि लैजान र कृषि उपज बजारसम्म पुर्याउनसमेत कठिनाइ भोग्नुपरेको थियो। विशेषगरी आमाछोदिङ्मो गाउँपालिकामा उत्पादन हुने बन्दाकोपी लगायतका कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसानहरू थप समस्यामा परेका थिए।
पहिलो चरणमा ३१२ जनाको श्रमदानबाट पुल निर्माण
आवागमन ठप्प भएपछि स्थानीय नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सामाजिक संस्थाहरूको संयुक्त पहलमा आपतकालीन अस्थायी फड्के पुल निर्माण अभियान सुरु गरिएको थियो।
आमाछोदिङ्मो गाउँपालिकाका उपाध्यक्ष चन्द्रिका तामाङ, वडा नं. २ का अध्यक्ष लाक्पा कामी तामाङ, वडा नं. ३ का अध्यक्ष सुरेन्द्र तामाङ, वडा नं. ४ का अध्यक्ष धर्म तामाङ, वडा नं. ५ का अध्यक्ष धावा गोम्बो तामाङ तथा सामाजिक अभियन्ता मानबहादुर तामाङलगायतको सक्रियतामा पुल निर्माण कार्य अघि बढाइएको थियो।
पहिलो चरणको निर्माणमा स्थानीय समुदायका २५२ जना र नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका ६० जना गरी कुल ३१२ जनाले श्रमदान गरेका थिए।
पुल निर्माणका लागि विभिन्न सामाजिक संस्था तथा सहयोगी निकायबाट आर्थिक र भौतिक सहयोगसमेत जुटाइएको थियो।
रोटरी क्लब अफ गोदावरी, रोटरी डिस्ट्रिक्ट ३२९२ तथा रोटरी कम्युनिटी क्रप्स रसुवाबाट ३ लाख ३ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो। उक्त सहयोग जुटाउन सामाजिक अभियन्ता मानबहादुर तामाङको समन्वय र पहल महत्वपूर्ण रहेको थियो।
त्यसैगरी, फ्यामिली स्टोफेल फाउन्डेसन र शान्ति सेवा गृहबाट संयुक्त रूपमा १ लाख ५५ हजार ७७८ रुपैयाँ बराबरका निर्माण सामग्री उपलब्ध गराइएको थियो। उक्त सहयोग जुटाउन विनोद आचार्यले समन्वय गर्नुभएको थियो। साङ्जेन हाइड्रोपावरले पुल निर्माणका लागि १२० मिटर लट्ठा उपलब्ध गराएको थियो।
दोस्रो चरणको निर्माणका लागि रोटरी डिस्ट्रिक्ट ३२९२, रोटरी क्लब काठमाडौं सर्कल, रोटरी क्लब अफ गोदावरी, रोटरी कम्युनिटी क्रप्स रसुवा तथा इको हिमाल नेपालबाट २ लाख ५५ हजार रुपैयाँ सहयोग जुटाइएको थियो। त्यस्तै, नेपाल रेडक्रस सोसाइटीबाट १ लाख २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो।
दोस्रो चरणको पुनर्निर्माणमा स्थानीय समुदायका २५० जना तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जना गरी करिब ३०० जनाले श्रमदान गरेका थिए। सबैको सामूहिक प्रयासबाट पुनः आपतकालीन अस्थायी फड्के पुल निर्माण सम्पन्न गरी आवागमन सञ्चालन गरिएको थियो।
स्थानीय प्रयासबाट बनेको पुल हुँदै मन्त्रीको यात्रा
पुल निर्माण सम्पन्न भएपछि संघीय महिला तथा बालविकासमन्त्री सीता बादीले उक्त आपतकालीन अस्थायी फड्के पुल हुँदै यात्रा गर्नुभएको छ। लामो समयसम्म आवागमनमा समस्या भोगेका स्थानीय नागरिकका लागि मन्त्रीको सवारी महत्वपूर्ण र उत्साहजनक क्षण बनेको छ।
पुल निर्माण सम्पन्न भएपछि संघीय महिला तथा बालविकासमन्त्री सीता बादीले उक्त आपतकालीन अस्थायी फड्के पुल हुँदै यात्रा गर्नुभएको छ। लामो समयसम्म आवागमनमा समस्या भोगेका स्थानीय नागरिकका लागि मन्त्रीको सवारी महत्वपूर्ण र उत्साहजनक क्षण बनेको छ।
पुल निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संस्था, अभियन्ता र सर्वसाधारणका लागि मन्त्रीको सवारी स्थानीय प्रयासको पहिचान र सम्मानका रूपमा समेत हेरिएको छ।
विपद्का कारण राज्यका पूर्वाधार क्षतिग्रस्त हुँदा स्थानीय नागरिकले आफ्नै श्रम, सामाजिक संस्थाको सहयोग र सुरक्षा निकायको साथमा तत्कालीन आवागमनको विकल्प तयार गर्नु उदाहरणीय कार्य भएको छ।
अस्थायी पुलले स्थायी पूर्वाधारको आवश्यकता हटाउँदैन
भोटेकोशी बाढीले क्षति पुर्याएका रसुवाका सडक, पुल तथा अन्य भौतिक संरचनाको स्थायी पुनर्निर्माण अझै चुनौतीपूर्ण विषय बनेको छ। अस्थायी फड्के पुलले तत्कालका लागि आवागमन सहज बनाए पनि दीर्घकालीन समाधानका लागि स्थायी पुल निर्माण अपरिहार्य छ।
स्याफ्रुबेसीलगायत बाढीबाट क्षतिग्रस्त भएका पुलहरूको पुनर्निर्माण तथा सडक सञ्जालको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
यस घटनाले विपद्का समयमा सरकार, स्थानीय तह, नागरिक, सुरक्षा निकाय र सामाजिक संस्थाबीच प्रभावकारी समन्वय तथा सहकार्य हुन सके कठिन परिस्थितिमा पनि जनजीवनलाई सहज बनाउन सकिने सन्देश दिएको छ।
स्याफ्रुबेसीको अस्थायी फड्के पुल केवल नदी वारपार गर्ने संरचना मात्र होइन, यो स्थानीय जनताको पसिना, सुरक्षाकर्मीको योगदान, सामाजिक संस्थाको सहयोग र सामूहिक एकताको जीवन्त उदाहरण बनेको छ। स्थानीय पहलबाट निर्माण भएको पुल हुँदै मन्त्रीको सवारी हुनुले विपद् व्यवस्थापन र पुनर्निर्माणमा जनसहभागिताको महत्वलाई थप उजागर गरेको छ।





