ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

बेइजिङ- संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।
पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् । “ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ”, नगरपालिका पुरातत्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भने ।
यसअघि पुरातत्वविद्हरूले चार सय वटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश (सन् १३६८ देखि सन् १६४४ सम्म) को समयमा ग्रेटवालको सुरक्षा गर्न ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।
“अविस्मरणीय देखिने यी ढुङ्गाहरूमा बारुद भर्नका लागि बीच भागमा गोलो प्वाल बनाइएको छ, बारुद भरेपछि त्यसलाई बन्द गरेर बाहिर फ्याँक्न सकिन्छ जसले शत्रुलाई मार मात्र हान्दैन शत्रुलाई पराजित गर्न विस्फोट पनि गराउन सक्छ”, साङले भने ।






