बिचौलिया हरि र उनका बुवा महेन्द्र गल्ती स्वीकार गरे तर पनि नियमनकारी निकाय मौन !

अजय चौरसिया /
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका बिचौलिया हरि साह भन्ने हरिवंश प्रसाद गुप्ता र उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहको कालाकर्तुतको बारेमा यस अनलाईनमा पटक–पटक समाचार प्रकाशित भए पछि हरिले पुनः बिहिवार सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेका छन् ।
हरिले फेसबुक कमेन्टमा कुनै पनि कार्यालयमा भित्र बाहिर गर्न मिल्छ, तर पत्रकार महोदयलाई श्रोतले बताएको छ भनि व्यङ्ग गरेका छन् । जबकी हाम्रो समाचारमा फाँट भित्र जो सुकैलाई पनि भित्र बाहिर गर्न मिल्दैन समाचार प्रकाशमा आएको छ । कार्यालयमा भित्र बाहिर किन भयो भनेर समाचार आएकै छैन् । हरिले कुनै व्यक्तिलाई आफ्नो निशाना बनाउदै अनर्गल प्रचार गर्दै जसले भोजपुरी टाईम्समा भनेको छ, उसैले नै बेतल्बी कर्मचारी हो र मोटरसाईकल फाँटको नायब सुब्बा बस्ने आधिकारिक कुर्सीमा बसी जे भन्छन त्यो फाँटका कर्मचारीहरु गर्ने गरेको कमेन्ट लेखेका छन् । बिचौलिया हरिले कमेन्टमा कसैको नाम नलेखेपनि उनी कसलाई आक्षेप लगाएका हुन्, त्यो कुरा वहाँलाई नै थाहा होला । हामी त एउटा सञ्चारकर्मीको नाताले विश्वस्त स्रोत जे भन्छ, त्यही कुरा लेखेर जनतालाई सुसुचित गराउन कार्यबाट पछि हटने छैनौं ।
हरिले अनावश्यक फेसबुक कमेन्ट गरे पनि उनी र उनका बुवा यस अनलाईनको नम्बरमा फोन गरी गल्ती स्विकार गर्दै समाचार नलेख्न आग्रह गरेका छन् । बिचौलिया हरि र उनका बुवा भ्रष्ट प्रवृतिका कार्यालय सहयोगी महेन्द्र साहले नलेख्न आग्रह गर्ने गरे पनि आम पाठकलाई सुसुचित हुने अधिकारबाट बञ्चित नगराईने पाठकहरुलाई विश्वस्त पार्न चाहन्छौं ।
हरिले म लेखनदास नभए पनि जिविकोपार्जनको लागि सवारी शाखामा कार्य गर्दै गराउदै आएकोले म मार्फत कार्यालयका कर्मचारीले सनाखत नामसारी किन गरेका हुन ? सो कुरा कार्यालय प्रमुख कमल गौतम र अन्य कर्मचारीहरु सँग सोध्न अघिल्लो दिनको फेसबुक कमेन्टमा लेखेका थिए । कर्मचारीलाई प्रभावित पार्दै आफ्नो दुनो सोझ्याउने गरेका बिचौलिया हरिले ना १ प देखि हालसम्म सनाखत नामसारी हुदै आएको र यसको प्रमाण मोटरसाईकलको ढाडा रजिस्टरमा हेर्न पनि कमेन्ट गरेका थिए ।
कानुन बिपरितका कार्य गर्ने गराउनेमा माहिर मानिएका हरिले पछिल्लो समय यामाहा कम्पनीको कार्यालयमा रहदै सो कार्यालयको पनि कार्य गर्दै गराउदै आएको बताईन्छ । यामाहा कम्पनीको आडमा मोटरसाईकल फाँटमा भित्र छिर्ने र बाहिर आउने उनको कामले सेवाग्रहीहरु पनि ठगिदै आएको बताईन्छ । बिचौलिया हरि कार्यालयको कर्मचारी नभए तापनि फाँट भित्र बाहिर गर्ने र सेवाग्रहीहरु सँग आवश्यक्ता भन्दा बढी रकम माग गरी कार्य गर्ने गराउने गरेको सोही फाँटमा कार्यरत्त एक जनाले बताए । यस्ता बिचौलियाहरुलाई विगतमा पर्सा प्रहरीले थुनेर कारवाही गरे पनि हरि माथि प्रहरी प्रशासनको ध्यान नजांदा सेवाग्रहीहरु आश्चर्यमा परेका छन् ।
दशैं भन्दा अगाडि करिब दुई सय सनाखत नामसारी गराएका बिचौलिया हरिले ब्लुबुकमा मात्र आधिकारिक कर्मचारीलाई घुसको रकम दिई सही गराई सेवाग्रहीहरुलाई दिएको र सो सनाखत नामसारीको हालसम्म मोटरसाईकल रजिस्टरको ढाडामा नचढाईएको समाचार स्रोतले जनाएको छ । तर सेवाग्रहीहरु ढाडामा पनि चढेको विश्वस्त हुदै फर्केको बताईएको छ । कानुन बिपरित गर्दै नगर्ने कार्य बिचौलिया हरि साह सँग मिली ब्लुबुकमा सही गर्ने अधिकृतहरु ढाडामा नचढाई सेवाग्रहीहरुलाई उल्लु बनाउदै पठाउने गर्ने गरेको ती स्रोतको भनाई रहेको छ ।
करिब २०६८ साल देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहले पटकेको रसिद पनि काटदै आएका छन् । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको बताईन्छ ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको सोही कार्यालयमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताए । पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजार रुपैया घुस असुल्ने गर्ने गरेको बताईन्छ ।
बिचौलिया हरिले सनाखत नामसारी हुन्छ भनि स्वीकार गरिसकेको अवस्था र बुवा महेन्द्रले भ्रष्टाचार गरिराखेको घाम जस्तै छर्लङ्ग भए पनि प्रहरी प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायहरुले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।