सवारी शाखाको बेथितिहरु छताछुल्ल हुदै, नियमनकारी निकाय मौन !

अजय चौरसिया /
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका बिचौलिया हरि साह भन्ने हरिवंश प्रसाद गुप्ता र उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहको कालाकर्तुतहरु बाहिर आएपनि नियमनकारी निकाय मौन देखिएको छ । हरि साह लेखनदास वा कर्मचारी नभए तापनि उनी सनाखत नामसारी गर्ने गराउने काममा माहिर रहेका छन् ।
नारायणघाट, चितवन, मकवानपुर, निजगढ लगायतका ठाउँहरुमा रिकन्डिसन खोलेर बसेका साहुहरु सँग प्रति ब्लुबुक ४ देखि ५ हजार सम्म रकम असुली सवारी शाखाका केही अधिकृतहरुलाई प्रलोभनमा पारी प्रति ब्लुबुक २ देखि ३ हजार सम्म दिई सनाखत नामसारी गराउने गरेको बताईन्छ । जुन कानुन बिपरितका कार्य हुन् ।
सवारी नामसारी गराउनका लागि लिने र दिने दुबै व्यक्तिको अनिवार्य उपस्थिति हुने नियम रहे पनि रकमको बलमा यस्तो कार्य हुदै आईरहेको बताईन्छ । हरि पछिल्लो समय यामाहा कम्पनिको कर्मचारीको रुपमा काम गर्दै सो कम्पनिको आडमा अनियमित कार्य गर्दै आईरहेको यस अनलाईनले समाचार प्रकाशन गरेपछि सो कम्पनिले उनलाई यामाहाबाट हटाएको मोटरसाईकल फाँटमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताएका छन् ।
यदि नियमनकारी निकायले हरिको मैसेन्जर चेकजाँच गरेर अनुसन्धान प्रक्रिया अगाडि बढायो भने घाम जतिकै उनको कालाकर्तुत छर्लङ्ग हुने बताईएको छ । सयकडौं सनाखत नामसारी गराएका बिचौलिया हरिले ब्लुबुकमा मात्र आधिकारिक कर्मचारीलाई घुसको रकम दिई सही गराई सेवाग्रहीहरुलाई दिएको र सो सनाखत नामसारीको हालसम्म मोटरसाईकल रजिस्टरको ढाडामा नचढाईएको समाचार स्रोतले जनाएको छ ।
तर सेवाग्रहीहरु ढाडामा पनि चढेको विश्वस्त हुदै फर्केको बताईएको छ । कानुन बिपरित गर्दै नगर्ने कार्य बिचौलिया हरि साह सँग मिली ब्लुबुकमा सही गर्ने अधिकृतहरु ढाडामा नचढाई सेवाग्रहीहरुलाई उल्लु बनाउदै पठाउने गर्ने गरेको ती स्रोतको भनाई रहेको छ ।
कार्यालय प्रमुख कमल गौतमले सवारी शाखाको फाँटै पिच्छे बेतल्बी कर्मचारीहरु राखी सेवाग्रहीहरु सँग बिचौलियाको काम गराउदै रकम असुल्दै आएको एक अर्को स्रोतको भनाई रहेको छ ।
करिब २०६८ साल देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहले पटकेको रसिद पनि काटदै आएका छन् । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको बताईन्छ ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको बताईन्छ । पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजार रुपैया घुसको रकम असुल्ने गर्ने गरेको ती स्रोतको भनाई रहेको छ ।






