मौलापुरकी मेयर रिना साहद्धारा ५० भन्दा बढी परिवारलाई हस्तानान्तरण गरिन १५ लाख

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको २ करोड ६६ लाख रकम तिरेको एक महिना नवित्दै एक अर्को उदाहरणीय काम गरेको छ ।
मौलापुर नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत बिहिवार ५० भन्दा बढी गरिब परिवारलाई ३० हजारका दरले १५ लाख भन्दा बढीको अनुदान रकमको चेक हस्तानान्तरण गरेको छ । मौलापुरकी मेयर रिनाकुमारी साहले नगरपालिकामा आयोजित एक विशेष कार्यक्रम मार्फत चेक हस्तानान्तरण गरेकी हुन् ।
मेयर साहको विशेष पहलमा उमेर पुगेकी छोरीको विवाहका लागि आर्थिक सहयोग गर्ने उदेश्यले मौलापुर नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ विगत ६ महिना देखी सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट विपन्न बर्गका व्यक्तिहरु लाभान्वित भएका छन् ।
छोरीको विवाहमा खर्च अधिक हुनेहुँदा विपन्न वर्गका अभिभावकलाई ठुलो आर्थिक संकट पर्ने गरेको कारण पालिकाले गरिब तथा विपन्न वर्गका उमेर पुगेका छोरीको विवाहमा ३० हजार रुपैया आर्थिक सहयोग गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत ५० जना व्यक्तिले ३० हजारका दरले रकम पाएका हुन् ।
मौलापुरकी मेयर साहले ‘असहायके साथ मेयर कार्यक्रम’, ‘फ्रि विजुली र फ्रि पानी’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नगरवासीलाई सेवा गरेको चर्चा अहिले मधेस प्रदेशका साथै देशैभरी भईरहेको छ । उनको यस्तो कार्यक्रमको प्रशंसा चौतर्फी भईरहेको छ ।
मौलापुर नगरपालिकाका प्रवक्ता चण्डेश्वर वैठाका अनूसार ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत अहिले सम्म हजार भन्दा बढी व्यक्तिले यो सुविधा पाईसकेका छन् । यस कार्यक्रमले विवाहका लागि हरेक परिवारमा राहत महशुस हुनुका साथै सहयोग पुग्ने भएकाले आउँने दिनमा समेत यो कार्यक्रम निरन्तर रहने उनले बताए ।
मौलापुर नगरपालिका–६ का बासुदेव पण्डित कुम्हारले मेयर रिना साहको पहलमा नगरपालिकाबाट छोरीको विवाहका लागि ३० हजारको चेक पाउँदा खुशी भएका छन् । कुम्हारले भने, ‘यस लोकप्रिय एवं जनपक्षिय कामहरुको जति बखान गरेपनि सायद कम नै हुन्छ होला ! एक पछि अर्को सराहनीय कामहरू गरेर आम जनताको मनमुटुमा बस्न सफल मौलापुरको नेतृत्व एवं नगरपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्छु । साथै यस्ता लोकप्रिय एवं जनप्रिय कामहरु आउँने दिनमा अझै जारी रहोस् भन्ने मेरो चाहना छ ।’
मौलापुर नगरपालिका –३ का हजारी राय यादवले समेत छोरीको विवाहका लागि ३० हजार पाएका छन् । यादवले यस्तो कार्यक्रमले आफू खुशी भएको बताए । गरिब, दिनदुखी, असहायलाई सहयोग गर्ने मेयर रिना साह जस्तो नेता आफूहरुले पाउँदा नगरबासी खुशी भएको उनले बताए ।
मौलापुर नगरपालिका–२ का इन्द्रजित महरा चमारले छोरीको विवाहका लागि ३० हजारको चेक पाउँदा खुशीले गदगद देखिन्थे । ‘हामी जस्ता गरिब, दलितलाई पनि सहयोग गर्ने मेयर रिना साह हाम्रा लागि ठुलो नेता हो । उहाँको अगाडी सबै फेल भएका छन् । हाम्रो पानी चल्दैन, हाम्रा कुरा कसैले सुन्न चाहदैन तर मेयर रिनाले हामीलाई पनि सहयोग गर्नु हाम्रा लागि यो भन्दा ठुलो कुरा केही हुन सक्दैन् । हाम्रा लागि रिना नै ठुलो नेता हो’ चमारले भने ।
मौलापुर नगरपालिकाका उकेश महतो कोईरी, प्रभु राउत बरैई, रामविर सोनार, रामाधार महतो, रामायण महतो, रामदेव साह सोनार, जंगदेव महरा चमार, नन्दु महरा चमार, मोहन राय यादव, ब्रह्मदेव राम, इन्द्रजित महरा चमार, गोपाल महरा चमार, हजारी राय यादव, भउचप्रसाद यादव, धनिराम साह सोनार लगायतका ५० जना भन्दा बढी व्यक्तिले नगरपालिकाका मेयर साहबाट चेक पाएपछि उनीहरुको मुहारमा खुशी देखिन्थ्यो ।
यस अघि ४ पुसमा मेयर साहले नगरपालिकाको तर्फबाट ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क बुझाएकी थिईन् । यो आर्थिक बर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक नेपाल विधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई मेयर साहले बुझाइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।