घण्टाघरमा जडान गरिएको वत्ति फेरि तोडफोड, विकास विरोधीहरुले तोडफोड गरेको वीरगंजवासीको आशंका
घण्टाघरमा जडान गरिएको वत्ति फेरि तोडफोड, विकास विरोधीहरुले तोडफोड गरेको वीरगंजवासीको आशंका

वीरगंज १४ माघ
वीरगंजको घण्टाघरमा जडान गरिएको आकर्षक बत्ती शनिबार राति तोडफोड भएको छ । घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन लगाइएको बत्ती तोडफोड गर्नुका साथै विद्युत प्रवाहका लागि लगाइएको तार काटेर बिगारेको भेटिएको हो ।
यस अघि पनि घण्टाघरमा लगाइएको बत्ति तोडफोड भएको थियो ।
वीरगंजलाई सफा सुन्दर बनाउन महानगर लागिरहेका बेला केही विकास विरोधी तत्वले त्यसलाई विगार्न लागि परेको वीरगंजवासीले महसुस गरेका छन् ।
महानगरपालिकाले घण्टाघरको सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत घण्टाघरको रंगरोगन गर्नुका साथै बिजुली बत्तीको आकर्षक साजसज्जा गरेको थियो । सौन्दर्यीकरण गरिएपछि रातको समयमा बत्तिको साजसज्जाले घण्टाघर परिसर आकर्षक देखिने गरेको छ ।
सौन्दर्यीकरणपछि घण्टाघरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्ने तथा भिडियो बनाउनेहरूको बाक्लो उपस्थिति घण्टाघरवरिपरि लाग्ने गरेको छ ।
महानगरले घण्टाघर सहित शंकराचार्यद्वार, पशुपति मन्दिर लगायत सडकका पोलमा समेत आकर्षक वत्तीको साजसज्जा गरेको छ ।
महानगरका प्रमुख राजेशमान सिंहले सौन्दर्यकरण गरिएका संरचना तोडफोड र चोरी हुनु निन्दनीय रहेको बताउनु भयो ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हो” उहांले भन्नुभयो, “घण्टाघर उज्यालो र आकर्षक बनाउन जडान गरिएको बत्ति तोडफोड र चोरी हुनु दुःखद हो ।”






