आलुबालीका रोग निदान विषयक विशेषज्ञ तालिम सम्पन्न

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रले आयोजना गरेको आलुबालीका रोग निदान विषयक तालिम बुधवार सम्पन्न भएको छ ।
आलुबालीको अनुसन्धानमा काम गर्ने वैज्ञानिक, प्राविधिक अधिकृत र प्राविधिकहरुको आलुबालीका रोग निदान र मुल्यांकन गर्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको हो ।
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक एवम मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले बालीनालीको जातीय विकासका मूल बाधक नै रोगकिरा भएको र तिनको निदान र व्यवस्थापनको पक्ष महत्वपूर्ण रहेको बताए ।
विभिन्न बालीहरुको रोगकिराको तथ्यांक लिने तरिका फरक फरक हुने हुनाले आलुबालीमा काम गर्ने प्राविधिकहरुले यसमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सुरज वैद्यले आलुबालीका जातहरु उन्मोचन र पंजीकरण प्रक्रियाका लागि आवश्यक बालीरोग तथ्यांक संकलनमा एकरुपता कायम गरी त्यसको प्रभावकारितामा अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको बताए ।
तालिममा आलुबाली अनुसन्धानमा लामो अनुभव हासिल गरेका बाली रोग विज्ञ डा. रामदेवी तिमिला, डा. शम्भुप्रसाद धिताल र सुरज वैद्यले आलुबालीका रोगहरुको निदान र व्यवस्थापन बिषयमा र बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवनका प्रमुख बेनुप्रसाद प्रसाईले बालीनालीका जातहरुको दर्ता एवं उन्मोचनका कानुनी पक्षहरुबारे प्रशिक्षण दिएका थिए ।
यसैगरी आलुबालीको जातीय अनुसन्धान प्रक्रियाबारे राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत नीला पौडेलले प्रस्तुति दिएकी थिईन । आलुबालीमा लाग्ने ढुसी, ब्याकटेरिया, भाइरस र निमाटोडको निदान र मुल्यांकन गरी उपयुक्त जात सिफारिस गर्न रोग किराका तथ्यांक राम्ररी रेकर्ड गर्ने क्षमताको वृद्धि गर्ने हुनाले यसको विशेष महत्व रहेको कुरा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायले बताए ।
तालिममा आलुबाली अनुसन्धानमा प्रत्यक्ष रूपमा संलग्न रहेका ४० जना प्राविधिक विज्ञहरुको सहभागिता थियो । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक एवम मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा संचालित सो कार्यक्रममा राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत वशिष्ठ आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।