नेपाल-भारत क्यूआर भुक्तानी, १० दिनमै एक करोड भारु भित्रियो नेपाल

काठमाडौं । नेपाल-भारतबीच सुरु भएको अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर कोड भुक्तानी प्रणालीले आमउपभोक्ता लाभान्वित भएका छन्।
गत फागुन १६ गतेदेखि भारतीय नागरिकले नेपालमा फोनपेको क्यूआर कोडमा भारतको फोनपे र भीम एपमार्फत भुक्तानी गर्न सुरु भएको थियो।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाका अनुसार हरेक दिन ४५० देखि ५ सय वटा कारोबार भइरहेको छ । १० दिनमै दिनमै एक करोड भारु (एक करोड ६० लाख रुपैयाँ) कारोबार भएको छ।
दैनिक १० लाख भारु भारतीय नागरिकले उताको फोनपे, भीम एपमार्फत नेपालको फोनपे क्यूआर कोड स्क्यान गरेर भुक्तानी गरिरहेका छन्।
फोनपेले भारतीय नागरिकले धेरै नगद खर्चिने क्षेत्र पहिचान गर्दै क्रमशः क्यूआर कोडको प्रयोगलाई आक्रामक बनाउँदै लग्ने योजना बनाएको छ। फोनपेले पर्यटकीयसँगै धार्मिक क्षेत्रमा आउने भारतीयहरुलाई लक्षित गरेर क्यूआर कोड भुक्तानी सरलीकृत गर्छ।
धार्मिक पर्यटकलाई लक्षित गर्दै पशुपतिनाथ, मनकामनालगायतका मन्दिर आसपासका क्षेत्रमा भारतीय नागरिकले क्यूआरबाटै भुक्तानी गर्न सक्ने गरी काम अघि बढाइसकेको सापकोटाले जानकारी दिए।






