हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न मन्त्री यादवद्धारा निर्देशन

हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न मन्त्री यादवद्धारा निर्देशन

काठमाडौँ, ८ पुस

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिनु भएको छ ।

आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हाल सम्म भइरहेका कामको प्रगति विवरण तत्थ्यसहित पेस गर्न निर्देशन दिनु भएको हो । “खानेपानी क्षेत्रमा हालसम्म के कति प्रगति भएको छ ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रुपमा रिपोर्ट पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस ।” उहाँले भन्नुभयो ।

मन्त्री यादवले मन्त्रालय मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाका कामबारे जानकारी लिँनु हुँदै कतिपय आयोजनाका काम तोकिएको समयमा सम्पन्न नभएको देखिएकाले त्यसको कारण लिखित रुपमा पेस गर्न समेत निर्देशन दिनुभयो । सोही क्रममा मन्त्री यादवले आफुले गरेका कामको प्रगती नागरिकले देख्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले खानेपानीको क्षेत्रमा के कति काम गर्‍यौँ । अब के गर्ने योजना छ त्यो विषयमा प्रत्येक दिन मनत्रालयमा जानकारी दिनु होला । हामीले गरेको राम्रो कामका विषयमा नागरिकले पनि जानुन ।” खानेपानीको क्षेत्रमा भइरहेका कामहरु रोकिएको भए वा कुनै बाधा अवरोध भए उक्त विषयमा मन्त्रालयमा तत्काल जानकारी गराउन समेत मन्त्री यादवले आग्रह गर्नुभयो ।

जनतालाई शुद्ध अनि सफा पानी बितरण गर्नु आफ्नो प्रमुख दायित्व भएको बताउनु हुँदै मन्त्री यादवले भन्नुभयो, “नागरिकले महसुस गर्ने गरी काम गरौँ, शुद्ध अनि सफा पानी बितरणमा कुनै कन्जुस्याई नगरौँ ।” खानेपानीका लिकेज भएका पाइपहरु मर्मत गरी पानी सुचारु गर्न तथा अरुले भत्काएका खानेपानीका पाइपहरुलाई सम्बन्धित निकायलाई नै मर्मत गराउन लगाउन समेत मन्त्री यादवले निर्देशन दिनुभयो ।

यस्तै, मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना उच्च व्यवस्थापन समूहको (एसएमटी) बैठक राख्न निर्देशन दिइएको थियो ।

बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरुले आफ्नो कार्यालयका कामबारे जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।