पत्रकार कमल कुमार उपाध्याय विषेश अदालतमा भ्रष्टाचारी ठहर, ६ महिना कैद तथा १ लाख १७ हजार जरिवाना

पत्रकार कमल कुमार उपाध्याय विषेश अदालतमा भ्रष्टाचारी ठहर, ६ महिना कैद तथा १ लाख १७ हजार जरिवाना

वीरगंज ८ असार

मधेश प्रदेश मिडिया काउन्सिलकाे अध्यक्षमा नवनियुक्त भएका कमलकुमार उपाध्यायलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको कैद र १ लाख १७ हजार ५ सय २० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले आइतबार उक्त फैसला सुनाएको हो ।

रजिष्ट्रार बनेको दोस्रो दिनमै मुद्दा

उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ साल वैशाख ९ गते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । उनी बाराको पचरौता नगरपालिकामा रजिष्ट्रारको रुपमा नियुक्त भएको दोस्रो दिनमै भ्रष्टाचार अभियोग लागेको हो ।

अख्तियारका अनुसार उपाध्यायले पचरौता नगरपालिकाको दुई ठेक्काको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा सो कार्य नगरी झूटा विवरणमार्फत रकम निकालेर भ्रष्टाचार गरेका थिए । उनले केवल रेकर्डका लागि एक प्रति मात्र टेण्डर सूचना प्रिन्ट गराएर ३ लाख ५२ हजार ५६० रुपैयाँको खर्च देखाएका थिए ।

निजी कम्पनीमार्फत भ्रष्टाचार

उक्त भ्रष्टाचार कार्य उपाध्यायकै स्वामित्वमा रहेको ‘केएस मल्टीपरपोज प्रा.लि.’ कम्पनीमार्फत गरिएको पुष्टि भएको छ । अदालतले सोही कम्पनीलाई पनि उपाध्यायसँगै बराबर रकम जरिवाना तिराउने फैसला सुनाएको हो ।

अख्तियारका अनुसार, उपाध्यायले सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दै नगरपालिकाका कर्मचारीहरूसँग मिलेमतोमा उक्त रकम निकालेका थिए ।

कमलकुमार उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्व सचिवसमेत हुन् । उनी बाराबाट प्रकाशित हुने ‘कृपा दैनिक’ का प्रकाशक तथा सम्पादक समेत रहेका छन् । लामो समयदेखि पत्रकारितामा क्रियाशील उपाध्यायले पछिल्लो समय प्रदेशस्तरीय मिडिया नियामक संस्थाको नेतृत्व सम्हालेका थिए ।

यो घटनाले मिडिया क्षेत्रको नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्ति र संस्थाले नियमनकारी भूमिकामा रहँदा समेत भ्रष्टाचार गर्ने क्रम नरोकिँदा आम नागरिकको विश्वास कमजोर हुँदै गएको देखिन्छ ।

निमित्त प्रशासकिय अधिकृत यादव पनि दोषी, लेखापाललाई सफाइ

यसै मुद्दामा संलग्न पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई समेत अदालतले दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

तर, सोही घटनामा संलग्न देखिएका नगरपालिकाका लेखापाल हासिम मियाँ अन्सारीलाई भने अदालतले सफाइ दिएको छ ।

अदालतले लेखापाल अन्सारीले केवल प्रमुख प्रशासकीय अधिकृतको आदेशअनुसार भुक्तानी मात्र गरेको पुष्टि भएपछि दोषमुक्त गरेको हो । संभार:वीरगंज सिटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।