करोडौँ रुपैयाँ अनियमितता गरेको आरोपमा अमोद केवट अख्तियारको निगरानीमा
करोडौँ रुपैयाँ अनियमितता गरेको आरोपमा अमोद केवट अख्तियारको निगरानीमा

वीरगंज १९ असार
झोले संस्थामार्फत करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पर्सा जिल्लाका अमोद केवट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन्
विभिन्न नाममा आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था (एनजीओ) सञ्चालन गर्दै आएका केवटले चालु आर्थिक वर्ष २०८१/८२ मा पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकासँग मिलेमतो गरी ठूला रकमको अनियमितता गरेको खुलेको हो ।
विशेष स्रोतले उपलब्ध गराएको सूचना अनुसार, पोखरिया नगरपालिकाबाट करिब २ करोड रुपैयाँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपैयाँ बराबरका जनचेतना तथा सीपमूलक तालिम कार्यक्रमको नाममा रकम निकासा गरिएको थियो । यद्यपि, कार्यक्रम वास्तवमा नगरी, कागजी प्रमाणहरू तयार पारेर रकम हिनामिना गरिएको आरोप लागेको छ ।
अख्तियारका स्रोतका अनुसार पोखरिया नगरपालिकामा विगतमा सम्पन्न कार्यक्रमका सहभागीहरूको नाम दोहोर्याएर पेस गरिएको र कागज मिलाएर फर्जी बिलमार्फत रकम झिकिएको प्रमाण फेला परेको छ । यस्तै, निलम्बित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवलाई लाखौँ रुपैयाँ ‘कमिसन’ स्वरूप दिइएको विवरण समेत खुलेको छ ।
बहुदरमाई नगरपालिकामा झन् वडा र नगर स्तरीय तालिमका नाममा १ करोड ६० लाख रुपैयाँ बजेट देखाइएको छ । बजेटमध्ये ३५ लाख रुपैयाँ पहिले नै भुक्तानी भइसकेको छ ।
केवटले पर्सा डेभलपमेन्ट प्रा.लि., विन्दवासिनी डेभलपमेन्ट एण्ड स्किल प्रा.लि., एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट प्रा.लि., सामुदायिक सिकाई केन्द्र प्रा.लि., र सूर्योदय तालिम केन्द्र जस्ता संस्थाहरू मार्फत काम गर्ने गरेको बुझिएको छ । उनले सञ्चालन गर्ने संस्थाहरूको कार्यक्षेत्र अत्यन्तै सानो देखिए पनि कागजमा ठूलो बजेटको तालिम सञ्चालन गरिएको उल्लेख छ ।
स्थानीय स्रोतका अनुसार केवटले पालिकाबाट सङ्कलित अवैध रकममार्फत वीरगञ्जको रानीघाट क्षेत्रमा आलिसान घर निर्माण गरिसकेका छन् । हाल अख्तियारले प्रारम्भिक अनुसन्धान थालेको र सबै आर्थिक विवरण, संलग्न व्यक्तिको बयान र संस्थाको बैंक कारोबारबारे तथ्य सङ्कलन भइरहेको बताइएको छ ।
सम्बन्धित कानुन अनुसार यस्ता तालिम कार्यक्रम स्थानीय आवश्यकताको पहिचान, सार्वजनिक सूचना, प्रतिस्पर्धात्मक प्रस्ताव मूल्याङ्कन लगायतका प्रक्रिया पूरा गरेर मात्रै गर्नुपर्ने भए पनि प्रत्यक्ष सेटिङ र कमिसनको आधारमा अनियमितता गरिएको देखिन्छ । संभार: यात्रा डेली






