दलित प्राथमिक विद्यालय गम्हरियामा अध्यक्ष पद र नाम परिवर्तनलाई लिएर विवाद
दलित प्राथमिक विद्यालय गम्हरियामा अध्यक्ष पद र नाम परिवर्तनलाई लिएर विवाद

प्रेमचन्द्र झा राैतहट/ पुस ०६ गते
फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ स्थित दलित प्राथमिक विद्यालय गम्हरियामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यालयको नाम परिवर्तनलाई लिएर विवाद भएको छ। हालका अध्यक्षले आफू अझै अध्यक्षकै रूपमा रहन पाउनुपर्ने माग गर्दै आएका छन् भने वडाध्यक्ष विजय यादवले षडयन्त्रपूर्वक दलित समुदायका प्रतिनिधिलाई अध्यक्ष पदबाट हटाउन खोजेको आरोप लागेको छ।
स्थानीयका अनुसार यो विवाद फतुवा विजयपुर नगरपालिकामा मात्र सीमित नरही गत वर्ष सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भएको विषय हो। यसैक्रममा हाल विद्यालयको नाम समेत परिवर्तन गरिएको छ। पहिलेको नाम परिवर्तन गरी ‘सितामाई दलित प्राथमिक विद्यालय गम्हरिया’ राखिएको छ।
नगरपालिका शिक्षा शाखाको समन्वयमा समाजसेवी शम्भु त्रिपाठीले आर्थिक सहयोग लगानी गरी विद्यालयको नाम परिवर्तन गरिएको बताएका छन्। उनले आफ्नी आमाको नाम जोडेर विद्यालयको नाम ‘सितामाई दलित प्राथमिक विद्यालय गम्हरिया’ राखिएको स्पष्ट पारेका छन्।
तर विद्यालयको नाम परिवर्तन र अध्यक्ष पद सम्बन्धी निर्णयप्रति स्थानीय समाजसेवी बाबुलाल यादवसहित स्थानीय दलित समुदायले असन्तुष्टि जनाएका छन्। उनीहरूले दलित समुदायको सहमति बिना नाम परिवर्तन गर्नु र दलित प्रतिनिधिलाई नेतृत्वबाट हटाउने प्रयास हुनु आपत्तिजनक भएको बताएका छन्।
स्थानीय दलित वर्गले यस विषयमा निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाइरहेका छन्। उनीहरूको माग छ—दलित समुदायको पहिचान, अधिकार र सहभागितालाई कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने।
यस विषयमा नगरपालिकाको आधिकारिक धारणा आउन बाँकी रहेको छ।






