नेपाल महिला संघ पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको जित सुनिश्चित गर्न सक्रिय

नेपाल महिला संघ पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको जित सुनिश्चित गर्न सक्रिय

नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षतामा आज पर्सामा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। महिलाको संगठनात्मक सशक्तीकरण, पार्टीको आगामी रणनीति तथा स्थानीय तहमा महिला सहभागितालाई अझ प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहेको थियो।

बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, पार्टी सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, अतिथिहरू अनिल सिंह र प्रकाश उपाध्याय तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार,पार्टीको कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गर्दै पार्टी निर्माणमा महिला संघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको संरक्षणका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा महिला संघलाई अझ संगठित, सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति, सिद्धान्त र विचार जनतामाझ पुर्‍याउन महिला संघले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै आगामी निर्वाचनमा एकताबद्ध भएर उम्मेदवार अनिल रुङटालाई विजयी बनाउन सबै कार्यकर्तालाई आह्वान गर्नुभयो।

प्रमुख अतिथि तथा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले महिला संघको सशक्त भूमिकाले मात्र पार्टीलाई निर्वाचनमा सफलता दिलाउन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने गरी उत्तरदायी राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

बैठक सभापति किरण शर्माको धन्यवाद ज्ञापनसहित सम्पन्न भएको थियो। बैठकले आगामी दिनमा नेपाल महिला संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै पार्टी संगठनलाई मजबुत बनाउने निष्कर्ष निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।