शहिदहरूको बलिदानकै जगमा नेपालको स्वतन्त्रता र सार्वभौमिकता सुरक्षित छ : रास्वपा उम्मेदवार शुशिल साह कानु
शहिदहरूको बलिदानकै जगमा नेपालको स्वतन्त्रता र सार्वभौमिकता सुरक्षित छ : रास्वपा उम्मेदवार शुशिल साह कानु

वीरगञ्ज १६ माघ
पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार शुशिल साह कानुले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र, सार्वभौम र आत्मसम्मानयुक्त राष्ट्रका रूपमा कायम रहन सफल भएको बताएका छन्।
कानुले शहिदहरूको त्याग र योगदानलाई स्मरण गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताको अधिकार रक्षा गर्नु सबै नागरिक र राजनीतिक नेतृत्वको साझा दायित्व भएको उल्लेख गरे। उनले शहिदहरूको सपना अनुरूप सुशासन, पारदर्शिता र जवाफदेहितासहितको राज्य व्यवस्था निर्माण गर्न आवश्यक रहेको बताए।
उनका अनुसार शहिदहरूले देखाएको मार्गलाई आत्मसात् गर्दै जनताको हित केन्द्रमा राखिएको राजनीति नै देशलाई समृद्धि र स्थायित्वतर्फ लैजाने आधार हो। उनले वर्तमान राजनीतिक व्यवस्थामा देखिएका विकृति, भ्रष्टाचार र बेथितिको अन्त्य गर्दै नयाँ राजनीतिक संस्कार स्थापित गर्न रास्वपा प्रतिबद्ध रहेको पनि बताए।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानको सम्मान गर्नु केवल औपचारिकता नभई व्यवहारमै उतारिनुपर्नेमा जोड दिएका थिए।






