भारतीय लीफ आर्टमार्फत नेपाली शहीदप्रति अन्तर्राष्ट्रिय सम्मान
भारतीय लीफ आर्टमार्फत नेपाली शहीदप्रति अन्तर्राष्ट्रिय सम्मान

माघ १६ काठमाडौँ
राष्ट्रिय शहीद दिवसको अवसरमा भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लीफ आर्ट कलाकार मधुरेन्द्र कुमार ले आफ्नो विशिष्ट कलामार्फत नेपाली अमर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
पाँच घण्टाको साधनापछि उनले संसारकै सानो हरियो पीपलको पातमा वि.सं. १९९७ मा लोकतन्त्रका लागि बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको स्मृतिलाई सूक्ष्म कलाकृतिमार्फत जीवन्त बनाएका हुन्। कलाकृतिमा नेपाली राष्ट्रिय झण्डासहित ‘माघ १६ जय नेपाल’ र ‘शहीदलाई सलाम’ सन्देश अंकित गरिएको छ।
उक्त कलाकृति सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। राष्ट्रिय शहीद दिवसका अवसरमा देशभर श्रद्धा र सम्मानसाथ विभिन्न कार्यक्रम आयोजना गरी ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।




