युवा नेता अकलेश कुमार साहको पहलमा पकाहाँ मैनपुर–४ मा ३५ लाखको सडक ढलान योजना, ठूलो लहावरथकरी–आत्माराम पथ पक्की बन्ने
युवा नेता अकलेश कुमार साहको पहलमा पकाहाँ मैनपुर–४ मा ३५ लाखको सडक ढलान योजना, ठूलो लहावरथकरी–आत्माराम पथ पक्की बन्ने

पर्सा २५ माघ
पर्सा जिल्लाको पकाहाँ मैनपुर गाउँपालिकामा भौतिक पूर्वाधार विकासतर्फ महत्वपूर्ण कदम अघि बढेको छ। गाउँपालिका–४ अन्तर्गत ठूलो लहावरथकरीदेखि आत्माराम पथसम्म जाने सडक ढलानसहित पक्की निर्माणका लागि टेन्डर प्रक्रिया सम्पन्न भएको छ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोग तथा पकाहाँ मैनपुरका युवा नेता अकलेश कुमार साहको विशेष पहलमा उक्त सडक निर्माण योजना अगाडि बढाइएको हो। सम्बन्धित स्रोतका अनुसार कुल रु. ३५ लाखको लागतमा योजना टेन्डर गरिएको छ।
स्थानीय पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै युवा नेता साहले विगत आर्थिक वर्षमा समेत विभिन्न विकास योजनाहरू ल्याई गाउँपालिकाका विभिन्न स्थानमा निर्माण कार्य अघि बढाएका थिए। उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान गर्ने, आवश्यक ठाउँमा तत्काल पहल गरी बजेट सुनिश्चित गर्ने कार्यमा सक्रिय भूमिका खेल्दै आएका छन्।
स्थानीयहरूका अनुसार ठूलो लहावरथकरीदेखि आत्माराम पथसम्मको सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेकाले आवत–जावतमा कठिनाइ हुँदै आएको थियो। अब पक्की सडक निर्माण भएपछि यातायात सहज हुनुका साथै स्थानीय विकास र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
युवा नेता साहको सक्रियता र मधेश प्रदेश सरकारको सहयोगले पकाहाँ मैनपुरमा विकासले गति लिँदै गएको भन्दै स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्। साथै आगामी दिनमा पनि यस्ता जनमुखी तथा दीर्घकालीन प्रभाव पार्ने विकास योजनाहरू निरन्तर अगाडि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।






