कपिलवस्तुकाे विजयनगरसँग जाेडिएका सिमावर्ती क्षेत्रमा अनुगमन
कपिलवस्तुकाे विजयनगरसँग जाेडिएका सिमावर्ती क्षेत्रमा अनुगमन

धर्मेन्द्र कुमार कुर्मी /कपिलवस्तु २६ माघ
कपिलवस्तुकाे पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत संयुक्त नाका अनुगमन गरेको छ । नेपाल-भारत सिमानामा पशुजन्य रोग नियन्त्रण, अवैध पशु आवतजावत रोकथाम तथा कानुनी प्रक्रिया कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको छ।
विजयनगर गाउँपालिकासँग जोडिएका नेपाल-भारत जिला बलरामपुरको सिमावर्ती क्षेत्रमा गरिएको उक्त अनुगमनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संयुक्त टोलीले सिमानाबाट हुने पशु तथा पशुजन्य पदार्थको ओसारपसार, क्वारेन्टाइन नियमको पालना र सुरक्षा व्यवस्थाको अवस्था निरीक्षण गरेको थियो ।
कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चौधरीले सिमानाबाट भित्रिने पशुमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया अनिवार्य रहेको बताए । उनले सीमावर्ती क्षेत्रमा पशुजन्य रोग फैलिने जोखिम उच्च हुने भएकाले समयमै अनुगमन र समन्वय अत्यन्त आवश्यक बताउँदै संयुक्त अनुगमनले अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताए ।
सशस्त्र प्रहरी बल नेपाल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठले सीमा सुरक्षामा सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । खुला सिमाका कारण ठुलो चुनाैती रहेकाे बताउँदै पशु क्वारेन्टाइन, प्रहरी र स्थानीय सरोकारवालाबीच सहकार्य बढेमा अवैध ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न सकिने उनकाे भनाई छ ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल (बिओपी) जवाबैराठका प्रहरी निरीक्षक पदम जेठाराले सीमामा निगरानी थप कडा बनाइएको जानकारी दिँदै नियम विपरीत हुने कुनै पनि गतिविधिमा कडाइका साथ कारवाही गरिने बताए
प्रहरी चौकी ठकुरापुरका सहायक प्रहरी निरीक्षक पुष्कर सिंह कँवरले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सधैं प्रतिबद्ध रहेको बताउँदै स्थानीय व्यवसायी र नागरिकलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरे ।
संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा सीमा क्षेत्रमा देखिएका चुनौतीहरू पहिचान गर्दै आगामी दिनमा थप प्रभावकारी अनुगमन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमले सीमावर्ती क्षेत्रमा पशु स्वास्थ्य सुरक्षा र कानुनी व्यवस्थाको कार्यान्वयनमा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाई छ ।





