जोखिममा परेका नेपालीको उद्धारका लागि सरकारसँग विशेष पहल गर्न पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको आह्वान
जोखिममा परेका नेपालीको उद्धारका लागि सरकारसँग विशेष पहल गर्न पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको आह्वान

प्रेमचन्द्र झा /रौतहट १७ फाल्गुन
राैतहट क्षेत्र नम्बर १ का सांसद उमेदवार तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली नागरिकको सुरक्षालाई सर्वोपरि राख्दै विदेशमा जोखिममा परेका नेपालीको उद्धारका लागि सरकारसँग विशेष पहल गर्न आह्वान गरेका छन्।
रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित कोईरी टोलमा आयोजित कोण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले अमेरिका र इरानबीच बढ्दो तनावका कारण खाडी मुलुकसहित विभिन्न देशमा कार्यरत लाखौं नेपालीको जीवन जोखिममा पर्न सक्ने उल्लेख गरे। यस्तो जटिल परिस्थितिमा नेपाल सरकारले गम्भीरतापूर्वक पहल गर्दै आवश्यक परे विशेष जहाजमार्फत नेपालीको सुरक्षित उद्धार गर्नुपर्नेमा उनले जोड दिए।
वरिष्ठ नेता नेपालले राष्ट्रिय स्वाभिमान र नागरिकको जीवनरक्षालाई सरकारको पहिलो कर्तव्य भएको बताउँदै संकटको घडीमा राज्य मौन बस्न नहुने धारणा राखे। उनले विदेशमा रहेका नेपाली श्रमिकले रेमिट्यान्समार्फत देशको अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै उनीहरूको सुरक्षामा कुनै कमी हुन नदिन आग्रह गरे।
“विदेशमा रहेका प्रत्येक नेपाली हाम्रो परिवारका सदस्य सरह हुन्, उनीहरूको सुरक्षाका लागि राज्य जिम्मेवार हुनुपर्छ,” उनले भने।
रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता नेपालले आफ्नो राजनीतिक यात्राभर जनताको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको उल्लेख गर्दै अहिलेको अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिमा राष्ट्रिय एकता आवश्यक रहेको बताए।
उनले सबै राजनीतिक दल र सरोकारवालालाई मानवताका आधारमा एकजुट भएर विदेशमा रहेका नेपालीको उद्धार र सुरक्षाका लागि साझा पहल गर्न आह्वान गरे।
सोही कोण सभामा तराई स्वतन्त्र न्याय मञ्चका अध्यक्ष भाग्य नारायण बैठाले पनि इरानलगायत खाडी मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा गम्भीर ध्यान दिन सरकारसँग आग्रह गरे। उनले संकटको अवस्थामा दलभन्दा माथि उठेर नेपालीको ज्यान जोगाउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रेवन्त झा, गौर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवशंकर यादवलगायतका वक्ताहरूले माधव कुमार नेपाल राष्ट्रिय स्तरका अनुभवी र जिम्मेवार नेता भएको उल्लेख गर्दै रौतहट क्षेत्र नम्बर १ बाट विजयी गराउन जनतासँग अपिल गरे। उनीहरूले नेपालको नेतृत्वमा जनताको आवाज सशक्त रूपमा संसदमा पुग्ने विश्वास व्यक्त गरे।
सभामा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले नेता नेपालको स्पष्ट धारणा, राष्ट्रियता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए। विदेशमा रहेका नेपालीको सुरक्षाबारे उठाइएको आवाजले जनतामा आशा र भरोसा जगाएको स्थानीयको प्रतिक्रिया थियो।
यसरी माधव कुमार नेपालले अन्तर्राष्ट्रिय संकटका बेला नेपाली नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनको यो पहललाई मानवतामुखी र राष्ट्रिय जिम्मेवारीबोधबाट प्रेरित कदमका रूपमा हेरिएको छ।






