युवा नेता सुमित चौरसिया सहित सयौं युवाहरु रास्वपामा प्रवेश, जितलाई शुनिश्चित पार्दै हरि पन्त

वीरगंज १८ फागुन,
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्साको राजनीतिक माहोल झनै तातेको छ । यही क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गर्दै युवा नेता सुमित चौरसिया सहित करिब दुई सयभन्दा बढी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
वीरगंजमा आयोजित कार्यक्रमबीच नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्तले टीका–माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै पन्तले युवाहरूको बढ्दो साथले रास्वपा देशव्यापी रूपमा बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गरे । उनले भने, “जनता पुराना दलहरूसँग आजित भइसकेका छन् । परिवर्तन र सुशासनको अपेक्षा अब रास्वपामार्फत पूरा हुनेछ ।”
रास्वपामा प्रवेश गर्दै चौरसियाले जसपा नेपाल सत्ताकेन्द्रित राजनीति र सम्झौतामा अल्झिएको आरोप लगाए । उनले मधेसका मुद्दा सम्बोधनमा कमजोरी देखिएको दाबी गर्दै आफू परिवर्तनको एजेण्डासहित रास्वपामा आबद्ध भएको बताए । “भ्रष्टाचार अन्त्य, सुशासन र युवाको भविष्य सुनिश्चित गर्न सक्ने शक्ति अब रास्वपा मात्रै हो,” उनले भने ।
चौरसिया सँगै प्रवेश गर्नेहरूमा विकास कुशवाहा, सुनिल अहमद, सुनिल माली, हिमांशु गुप्ता, धीरज रौनियार, सौरभ गुप्ता, राजेश राउत, ओमनाथ चौरसिया, अर्बाज अहमद लगायतका युवा रहेका छन् । रास्वपा पर्सा क्षेत्र नम्बर–१ का सभापति राम आर्यले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिइने आश्वासन दिए ।
यसैबीच रास्वपाले आइतबार राति वीरगंज महानगरपालिका अन्तर्गत ताजपुर, परवानीपुर र भिषवामा चुनावी कोणसभा पनि सम्पन्न गरेको छ । सभामा युवापुस्ता, महिला तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो । वक्ताहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र पारदर्शितालाई मुख्य एजेण्डा बनाइएको बताए ।





