फतुवा विजयपुरमा लामखुट्टे नियन्त्रण गर्न नगर प्रमुखलाई ध्यानाकर्षण
फतुवा विजयपुरमा लामखुट्टे नियन्त्रण गर्न नगर प्रमुखलाई ध्यानाकर्षण

फाल्गुन ३० रौतहट / प्रेमचन्द्र झा
फतुवा विजयपुर नगरपालिकामा पछिल्लो समय गर्मी बढेसँगै लामखुट्टेको समस्या अत्यधिक बढेको भन्दै त्यसको नियन्त्रणका लागि आवश्यक पहल गर्न नगर प्रमुखको ध्यानाकर्षण गराइएको छ।
जसपा नेपाल फतुवा विजयपुर नगर कमिटीका अध्यक्ष जयमंगल प्रसाद यादवले नगर प्रमुखलाई निवेदन दिँदै नगर क्षेत्रमा लामखुट्टेको समस्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरेका छन्। उनका अनुसार पानी जम्ने स्थानहरू बढ्दै जाँदा लामखुट्टे तीव्र रूपमा फैलिरहेका छन्, जसले नगरवासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।
उनले लामखुट्टेको कारण डेंगु, मलेरिया र चिकनगुनिया जस्ता रोग फैलिने जोखिम पनि बढ्दै गएको भन्दै नगरपालिकाले यसतर्फ तुरुन्त ध्यान दिनुपर्ने बताएका छन्।
नगरपालिकाले सरसफाइ तथा स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि लामखुट्टे नियन्त्रणका कार्यक्रम सबै वडामा समान रूपमा प्रभावकारी ढंगले लागू गर्न आवश्यक रहेको यादवले उल्लेख गरेका छन्।
नगरवासीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै लामखुट्टे नियन्त्रणका लागि छिटो आवश्यक कदम चाल्न उनले नगर प्रमुखसमक्ष अनुरोध गरेका छन्।






