स्क्रिप्ट लिक भएपछि’ पाकिस्तानको मध्यस्थ दाबीमा प्रश्न, कूटनीतिक छविमा धक्का

स्क्रिप्ट लिक भएपछि’ पाकिस्तानको मध्यस्थ दाबीमा प्रश्न, कूटनीतिक छविमा धक्का

काठमाडौं २७ चैत

इजरायल, अमेरिका र इरानबीच अप्रिल ८, २०२६ देखि लागू भएको युद्धविरामले मध्यपूर्वलाई सम्भावित ठूलो द्वन्द्वबाट केही समयका लागि राहत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताका लागि आक्रमण रोक्ने घोषणा गर्दै मुख्य उद्देश्य पूरा भएको बताएका छन्। इरानले पनि अन्तर्राष्ट्रिय जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’लाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने सहमति जनाएको छ।
४० दिनसम्म चलेको तनावपछि आएको यो सहमतिलाई ट्रम्पले “दुई पक्षीय युद्धविराम” भन्दै दीर्घकालीन शान्तिको आधार बन्न सक्ने बताएका छन्। यता इरानले भने आफ्ना सर्तहरू स्वीकार गराउन सफल भएको दाबी गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने लेबनानस्थित हिजबुल्लाहविरुद्धका कारबाही यस सम्झौतामा नपर्ने स्पष्ट पारेका छन्।
युद्धविरामले सर्वसाधारणलाई केही राहत दिएको भन्दै विश्व समुदायले स्वागत गरे पनि विज्ञहरूले यसलाई कमजोर र अस्थायी सम्झौता मानेका छन्। इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रतिस्पर्धा अझै समाधान नभएकाले दीर्घकालीन शान्तिमा अनिश्चितता रहेको उनीहरूको भनाइ छ।
यसैबीच पाकिस्तानले आफूलाई प्रमुख मध्यस्थकर्ता दाबी गर्दै कूटनीतिक सफलताको श्रेय लिन खोजेको थियो। सरकारी निकाय र सञ्चारमाध्यमहरूले पाकिस्तानलाई “विश्वसनीय शान्ति दूत”का रूपमा प्रस्तुत गरेका थिए।
तर केही समयमै सार्वजनिक भएको एउटा ‘ड्राफ्ट’ सन्देशले उक्त दाबीलाई विवादमा तानेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशको प्रारम्भिक मस्यौदा ‘Draft – Pakistan’s PM Message on X’ शीर्षकसहित लिक भएको थियो। उक्त मस्यौदाको भाषा अमेरिकी र इजरायली धारणा सँग मिल्दोजुल्दो देखिएको र त्यसलाई ह्वाइट हाउसले पहिले नै समीक्षा तथा अनुमोदन गरेको विवरण सार्वजनिक भएको छ।
यस घटनापछि पाकिस्तानको स्वतन्त्र मध्यस्थ भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। विश्लेषकहरूका अनुसार पाकिस्तानले स्वतन्त्र कूटनीतिक पहल भन्दा पनि ‘सन्देशवाहक’को भूमिका निर्वाह गरेको संकेत देखिएको छ।
सामाजिक सञ्जालमा यस विषयले व्यापक प्रतिक्रिया पाएको छ। आलोचकहरूले पाकिस्तानलाई स्वतन्त्र मध्यस्थ नभई अमेरिकी प्रभावमा रहेको मुलुकको रूपमा टिप्पणी गरेका छन्। केही समयअघि बनाइएको कूटनीतिक छवि भने यस घटनापछि कमजोर बनेको विश्लेषण गरिएको छ।
विज्ञहरू भन्छन्, अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव देखाउने प्रयासमा गरिएको यस्तो हतारो कदमले उल्टै विश्वसनीयतामा असर पार्न सक्छ। पाकिस्तानले भने अझै पनि आफ्नो भूमिकालाई कूटनीतिक सफलता ठान्दै आएको छ।
यो घटनाले अन्तर्राष्ट्रिय कूटनीतिमा स्वतन्त्रता, प्रभाव र वास्तविक भूमिकाबारे गम्भीर बहसलाई पुनः उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।