साइकल र्यालीमार्फत नेपाल–भारत मित्रताको सन्देश : बीरगंजमा विश्व साइकल दिवस उत्साहपूर्वक मनाइयो
साइकल र्यालीमार्फत नेपाल–भारत मित्रताको सन्देश : बीरगंजमा विश्व साइकल दिवस उत्साहपूर्वक मनाइयो

बीरगंज २० जेष्ठ
विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, बीरगंज ले बीरगंज साइक्लिङ क्लब सँगको सहकार्यमा बुधबार बीरगंजमा विशेष साइकल र्याली आयोजना गरेको छ। कार्यक्रमले स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।
महावाणिज्यदूत देवी सहाय मीना ले महावाणिज्य दूतावास परिसरबाट झण्डा देखाएर र्यालीको उद्घाटन गर्नुभएको थियो। र्याली घण्टाघर, माईस्थान, आदर्शनगर, छपकैंया हुँदै भारत–नेपाल सीमा नजिक रहेको शंकराचार्य गेटसम्म पुगेपछि पुनः महावाणिज्य दूतावास परिसरमा आएर सम्पन्न भएको थियो।
र्यालीमा स्थानीय व्यवसायी, बीरगंज उद्योग वाणिज्य संघ का सदस्य, नेपाल युवा उद्यमी मञ्च, नागरिक समाज, विद्यार्थी, वाणिज्य दूतावासका अधिकारी तथा साइक्लिङ क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण प्रदूषण न्यूनीकरण तथा स्वस्थ समाज निर्माणका लागि छोटो दूरीमा साइकल प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए।
समापन कार्यक्रममा बोल्दै महावाणिज्यदूत देवी सहाय मीनाले साइकल दिगो, वातावरणमैत्री र किफायती यातायातको उत्कृष्ट माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले साइकल संस्कृतिको विकासले स्वास्थ्य प्रवर्द्धनसँगै वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले यस्ता कार्यक्रमहरूले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध अझ बलियो बन्ने विश्वास व्यक्त गर्दै दुवै देशबीचको सामाजिक, सांस्कृतिक तथा मित्रवत सम्बन्धलाई थप उचाइमा पुर्याउने धारणा राख्नुभयो।
विश्व वातावरण दिवसको सन्दर्भसँग समेत जोडिएको उक्त कार्यक्रमले हरित जीवनशैली, स्वच्छ वातावरण र दिगो विकासप्रति नेपाल–भारतको साझा प्रतिबद्धतालाई उजागर गरेको सहभागीहरूले बताएका छन्।





